पार्वती भट्टको ‘शीतको समुद्र’ माथि विमर्श : मुक्तकमा संवेदना र सामाजिक व्यङ्ग्य

लक्ष्मी भट्ट/अत्तरिया- प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा साहित्यकार पार्वती भट्टको मुक्तक संग्रह ‘शीतको समुद्र’ माथि समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। असोज ३१ गते प्रतिभा पुस्तकालयको हलमा आयोजित कार्यक्रममा साहित्यकार, समीक्षक तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो।

३०९ वटा मुक्तक समेटिएको ‘शीतको समुद्र’ पार्वती भट्टको प्रकाशित मुक्तक संग्रह हो। यसअघि उनको अर्को मुक्तक संग्रह ‘यादका पहाडहरू’ पनि प्रकाशित भइसकेको छ।

Navadurga sun

समीक्षा तथा छलफलका क्रममा वक्ताहरूले भट्टका मुक्तकमा मानवीय संवेदनशीलता, राजनीतिक व्यङ्ग्य, गरिबीप्रतिको चासो र अन्यायविरुद्धको भावना स्पष्ट रूपमा अभिव्यक्त भएको बताए। सरल र सरस भाषामा सामाजिक तथा मानवीय विषयवस्तुलाई प्रस्तुत गर्नु उनका रचनाको विशेषता रहेको समीक्षकहरूको भनाइ थियो।

मुक्तक लेखनसँगै पार्वती भट्टले कविता, गजल र देउडा गीतलगायत विधामा पनि कलम चलाउँदै आएकी छन्। उनका दुई मुक्तक संग्रहको प्रकाशनले सुदूरपश्चिमको साहित्यिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको वक्ताहरूले उल्लेख गरे। थोपा–थोपा मिलेर सागर बन्छ भनेझैँ साहित्यिक सिर्जनाका माध्यमबाट क्षेत्रको भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा उनको प्रयास प्रशंसनीय रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा समीक्षकहरूले उनका मुक्तकका सबल पक्षसँगै सुधार गर्नुपर्ने पक्षबारे पनि चर्चा गरेका थिए। केही मुक्तक अपेक्षाकृत लामा भएकाले मुक्तकको संक्षिप्तता र संरचनामा थप ध्यान दिनुपर्ने सुझाव उनीहरूले दिएका थिए।

आफ्ना सिर्जनाबारे धारणा राख्दै साहित्यकार भट्टले मुक्तक लेखनका क्रममा गरेको मेहनत र संघर्ष पाठकले आफ्ना रचना पढ्दा बिर्सने गरेको बताइन्। उनले सुदूरपश्चिमको साहित्यिक विकासका लागि आफू सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना मुक्तक मन पराइदिने पाठकहरूप्रति आभार प्रकट गरिन्।

कार्यक्रमले सुदूरपश्चिमको साहित्यिक सिर्जना, समीक्षा संस्कृति र साहित्यकारबीचको संवादलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...