अत्तरिया- गगन पक्षधर नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले आर्थिक अवस्था कमजोर भएका तीन परिवारलाई खाद्यान्न तथा कपडा सहयोग गरेको छ।
शुक्रबार ‘जसको कोही छैन, त्यसको नेपाली कांग्रेस’ भन्ने मूल नाराका साथ गोदावरी नगरपालिकाभित्रका विभिन्न तीन परिवारलाई खाद्यान्न तथा कपडा सहयोग गरिएको हो।

आर्थिक अभावका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका परिवारलाई राहत पुर्याउने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले जनाएको छ।


नगरसभापति रबिन्द्र शाही (गुड्डु) ले हिन्दुधर्मावलम्बीहरुको महान पर्व विजया दशमी तथा दिपावलीको अवसरमा कसैलाई पनि खिन्नता बोध नहोस भन्ने सोचेर सहयोग गरिएको बताए । उनका अनुसार गोदावरी नगरपालिका वडा नं. १ का ३ परिवारलाई नगद सहित करिब ५० हजार बराबरका खाद्यान्न, लत्ताकपडा, भाडाकुडा सहयोग गरिएको हो ।
कांग्रेस गोदावरीले यसअघि पनि सो नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको थियो । सहयोग सामग्री वितरण कार्यमा नगरसभापति गुड्डु सहित कांग्रेस कैलाली क्षेत्र नं. ४ का पुर्वसचिव जयराज फुलारा, अभियानकर्ता योगेश भट्ट, कांग्रेसका युवा नेताहरु पदम ओझा र नारायण रावल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमममा बोल्दै अभियानकर्ता योगेश भट्टले दशैँको मुखमा खानलाउन अभाव भएका केही परिवारलाई कांग्रेस गोदावरीले सहयोग गरेको बताए । उनले वडासदस्य गम्भीर साउँदको विशेष पहलमा वडा नं. १ मा रहेको विपन्न परिवारलाई सहयोग गरिएको बताए ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै विपन्न तथा असहाय परिवारलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यस्ता मानवीय सेवाका कार्यले समस्यामा परेका परिवारलाई राहत पुग्नुका साथै समाजमा आपसी सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि हुने विश्वास लिइएको छ।
‘जसको कोही छैन, त्यसको नेपाली कांग्रेस’ भन्ने नारालाई व्यवहारमा उतार्दै पार्टीले आगामी दिनमा पनि सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
