सुदूरपश्चिमका मुख्यमन्त्रीसहित सबै मन्त्रीको राजीनामा माग्दै कमलबहादुर शाह

धनगढी- नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसहित सबै मन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेका छन्।

बुधबार संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहले अर्थमन्त्री चक्र मल्लले प्रदेशसभामै बजेट गलत भएको स्वीकार गरेको भन्दै मुख्यमन्त्रीसहित सबै मन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

Navadurga sun

‘सदनमै अर्थमन्त्रीले गलत बजेट आएको स्वीकार गर्नुभएको छ। बजेटमा बिचौलिया हाबी भएको स्वीकार गर्नुभएको छ। तत्काल मुख्यमन्त्रीसहित सबै मन्त्रीले राजीनामा दिनुपर्छ,’ शाहले भने।

अर्थमन्त्री मल्लले प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्तिप्रति संकेत गर्दै शाहले नैतिक जिम्मेवारी लिँदै पदबाट मार्गप्रशस्त गर्नुपर्ने बताए।

मल्लले ‘मैले दूध पोखरी बनाउन खोजेको थिएँ, पानी पोखरी बन्यो’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै शाहले बजेट नै ठीक नभएको स्वीकार गरेपछि पदमा रहिरहन नमिल्ने तर्क गरे।

‘उहाँले रोस्ट्रममा उभिएर हामीले ल्याएको बजेट ठीक छैन भन्नुभयो। हामीले ल्याएको बजेट ठीक छैन भनेपछि नैतिक रूपमा उहाँले पद छोड्नु पर्दैन? राजीनामा दिनु पर्दैन?’ शाहले प्रश्न गरे।

अर्थमन्त्रीले बजेटमा बिचौलिया हाबी भएको स्वीकार गरेको भन्दै शाहले त्यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए। उनले बजेटसम्बन्धी विवादको निकासका लागि मुख्यमन्त्रीसहित सबै मन्त्रीले राजीनामा दिनुपर्ने माग दोहोर्‍याए।

आइतबार अर्थमन्त्री मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। बजेटमाथि चर्किएको विवादका बीच प्रतिपक्षी दलहरूको बहिष्कारका बाबजुद मंगलबार प्रदेशसभाबाट बजेट पारित भएको थियो।

बजेट पारित भइसके पनि त्यसलाई लिएर सुदूरपश्चिम प्रदेशमा राजनीतिक विवाद कायमै छ। निवर्तमान मुख्यमन्त्री शाहले अर्थमन्त्रीको अभिव्यक्तिलाई आधार बनाउँदै सरकारको नेतृत्व र मन्त्रीहरूको नैतिक जिम्मेवारीमाथि प्रश्न उठाएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...