अत्तरियाको ‘नृत्य मञ्च–२०८३’मा चम्किए १२ प्रतिभा, असोज २४ गते ग्रान्ड फाइनल
२४ विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाबाट १२ जना फाइनलमा, विजेताले २० हजार १०५ रुपैयाँ पाउने
अत्तरिया- कैलालीको अत्तरियामा विद्यालय तहका नृत्य प्रतिभाबीच भइरहेको ‘नृत्य मञ्च–२०८३’ प्रतियोगिता रोमाञ्चक चरणमा पुगेको छ। शनिबार सम्पन्न सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै १२ जना प्रतियोगीले ग्रान्ड फाइनलमा स्थान सुरक्षित गरेका छन्।
द डान्स सर्कल र गुरुकुल डान्स एन्ड फिटनेस स्टुडियोको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा कैलाली र कञ्चनपुरका २४ विद्यालयका विद्यार्थी सहभागी छन्।

‘प्रतिभाको सम्मान, नृत्यको पहिचान’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताले विद्यालय तहमा लुकेर रहेका नृत्य प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई आफ्नो कला र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको आयोजकको भनाइ छ।
शनिबार सम्पन्न क्वार्टरफाइनल चरण पार गरेका ३४ जना विद्यार्थीले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए। विभिन्न शैलीका नृत्यमार्फत प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
द डान्स सर्कलका सञ्चालक तथा नृत्य प्रशिक्षक लोकेश बोहराका अनुसार प्रतियोगिता केवल प्रतिस्पर्धाका लागि मात्र नभई विद्यार्थीभित्र लुकेका प्रतिभा उजागर गर्ने र उनीहरूको आत्मविश्वास तथा व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको हो।


को–को पुगे ग्रान्ड फाइनलमा ?
सेमिफाइनलबाट उत्कृष्ट प्रदर्शन गर्दै सत्यवती एकेडेमीका रुजुम बीके, करुणा खड्का र डीजी बोहरा ग्रान्ड फाइनलमा पुगेका छन्।
त्यस्तै पुष्पाञ्जली माध्यमिक विद्यालयका पृतम बोहरा र अनुष्का बीके, एभरेस्ट एकेडेमीका अनिका बिष्ट, अलिशा ऐर र बबिता कुँवर, दुर्गाज्योति माध्यमिक विद्यालयकी पायल कोली, एपेक्स एकेडेमीकी काजोल खड्का, ज्ञानज्योति माध्यमिक विद्यालयकी चित्रशी बोहरा र गोदावरी पब्लिक स्कुलकी इशिका पुजारा पनि फाइनलमा छनोट भएका छन्।
अब यी १२ प्रतियोगीबीचको अन्तिम प्रतिस्पर्धाले ‘नृत्य मञ्च–२०८३’को विजेता तय गर्नेछ।
विजेताले पाउनेछन् आकर्षक पुरस्कार
प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीका लागि आयोजकले नगद पुरस्कारको समेत व्यवस्था गरेको छ। प्रथम पुरस्कार रु. २० हजार १०५, द्वितीय पुरस्कार: रु. १५ हजार १०५ र तृतीय पुरस्कार: रु. १० हजार १०५ रहेको छ । प्रतियोगिताको ग्रान्ड फाइनल असोज २४ गते आयोजना हुने आयोजकले जनाएको छ।
विद्यालय तहमा रहेका बालबालिकाको नृत्य प्रतिभालाई मञ्च प्रदान गर्दै अघि बढिरहेको ‘नृत्य मञ्च–२०८३’ को ग्रान्ड फाइनललाई भने प्रतियोगी, अभिभावक तथा कला–संस्कृतिप्रेमीहरूले उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्।
