अत्तरियामा ट्राफिक प्रहरीलाई पाँच मोटरसाइकल हस्तान्तरण
सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन एसएएसईसी राजमार्ग सुधार आयोजनाको सहयोग
अत्तरिया- कैलालीको अत्तरियास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा प्रयोजनका लागि पाँचवटा मोटरसाइकल हस्तान्तरण गरिएको छ।
एसएएसईसी राजमार्ग सुधार आयोजना अन्तर्गत सञ्चालित ब्ल्याक स्पट उन्मूलन तथा सडक सुरक्षा सुधार कार्यबाट ती मोटरसाइकल प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो।

आज आयोजित कार्यक्रममा ब्ल्याक स्पट उन्मूलन तथा सडक सुरक्षा सुधार कार्यका टिम लिडर राजबहादुर खड्काले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाका प्रहरी निरीक्षक मनिराम भट्टलाई पाँचवटै मोटरसाइकल हस्तान्तरण गरेका हुन्।
सम्झौताअनुसार हस्तान्तरण गरिएका मोटरसाइकल टीभीएस अपाचे ४भी, २०० सीसी तथा ४–स्ट्रोक इन्जिनका रहेका छन्। मोटरसाइकलसँगै लेग गार्ड, हेल्मेट तथा युटिलिटी बक्ससमेत उपलब्ध गराइएको छ।
लङजियान–भीमेश्वर जेभीले सम्झौताअनुसार ती मोटरसाइकल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियालाई हस्तान्तरण गरेको हो। हस्तान्तरण गरिएका पाँचवटै मोटरसाइकलका चेसिस तथा इन्जिन नम्बरसमेत सम्बन्धित कागजातमा उल्लेख गरिएको जनाइएको छ।
हाल ठेकेदारको नाममा दर्ता रहेका ती मोटरसाइकलहरू हस्तान्तरण भएको मितिले तीन महिनाभित्र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाको नाममा नामसारी गरिने बताइएको छ।
हस्तान्तरण कार्यक्रममा आयोजनाका सहायक आवासीय इन्जिनियर अरुणप्रसाद रोस्यारा, लङजियान–भीमेश्वर जेभीका कन्ट्र्याक्ट म्यानेजर अभि पोखरेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा ब्ल्याक स्पट उन्मूलन तथा सडक सुरक्षा सुधार कार्यका टिम लिडर राजबहादुर खड्काले सडक सुरक्षाका लागि विभिन्न कार्यहरू सञ्चालन भइरहेको बताए। सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउने उद्देश्यले कार्यक्रमअन्तर्गत पाँचवटा मोटरसाइकल ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए।
त्यस्तै, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाका प्रहरी निरीक्षक मनिराम भट्टले स्रोतसाधनको अभावका बीच मोटरसाइकल उपलब्ध गराएकोमा ब्ल्याक स्पट उन्मूलन तथा सडक सुरक्षा सुधार कार्यप्रति धन्यवाद व्यक्त गरे। मोटरसाइकलको उपलब्धताले राजमार्गमा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा निगरानीमा थप सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।
