भारतमा चिनी महँगिएपछि सीमावर्ती उपभोक्तालाई मार
प्रतिकिलो ९० रुपैयाँमा पाइने चिनीको मूल्य बढेर १३०–१४० रुपैयाँसम्म पुग्यो
कञ्चनपुर- भारतीय बजारमा चिनीको मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रका नेपाली उपभोक्तामा परेको छ। पछिल्ला केही सातायता भारतमा चिनीको मूल्य बढेसँगै कञ्चनपुरका सीमावर्ती बजारमा समेत चिनीको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको हो।
विगतमा भारतबाट ल्याइएको चिनी प्रतिकिलो ९० रुपैयाँसम्ममा खरिद गर्दै आएका उपभोक्ताले अहिले १३० रुपैयाँसम्म तिर्नुपरेको छ। बेलौरी नगरपालिका–३ का स्थानीय जग्गुराम डगौराले पहिले प्रतिकिलो ९० रुपैयाँमा खरिद गर्दै आएको चिनी अहिले १३० रुपैयाँसम्म पुगेको बताए।

स्थानीय लोकेन्द्र चौधरीले चिनीको मूल्य प्रतिकिलो ४० रुपैयाँसम्म बढेपछि प्रयोग घटाउन थालेको बताए। उनका अनुसार मूल्यवृद्धिले सर्वसाधारणको दैनिक उपभोगमा समेत असर परेको छ।
भारतबाट चिनी ल्याएर बिक्री गर्दै आएका व्यवसायी मनीराम चौधरीले भारतमै मूल्य बढेपछि भन्सारलगायतका खर्च जोड्दा नेपाली बजारमा पनि महँगोमा बिक्री गर्नुपर्ने अवस्था आएको बताए।
सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरका दुई स्थानमा चिनी मिल सञ्चालनमा छन्। तर स्थानीय उत्पादनको मूल्य भारतीय चिनीको तुलनामा महँगो हुँदा कञ्चनपुर र कैलालीका उपभोक्ता वर्षौंदेखि भारतबाट आउने चिनीमा निर्भर हुँदै आएका व्यवसायीहरू बताउँछन्।
व्यवसायी हरिस थापाका अनुसार विगतमा भारतीय बजारमा प्रतिकिलो ७० रुपैयाँ पर्ने चिनी स्थानीय उद्योगबाट ९० रुपैयाँमा खरिद गर्नुपर्दा उपभोक्ताले भारतीय चिनी रोज्ने गरेका थिए।
यता शुक्लाफाँटा नगरपालिका–१० की स्थानीय रमा साउदले विगतमा प्रतिकिलो १०० रुपैयाँमा पाइने चिनी अहिले १४० रुपैयाँसम्म तिर्नुपरेको बताइन्। स्थानीय चिनी उद्योगले सहज मूल्यमा चिनी उपलब्ध गराउनुपर्ने उनको माग छ।
तर बेलौरी नगरपालिका–१० स्थित महाकाली चिनी मिलका सूचना अधिकारी कालु सिंह ठगुन्नाले कच्चा पदार्थको अभाव र उत्पादन लागतका कारण भारतीय उत्पादनभन्दा सस्तोमा चिनी बिक्री गर्न कठिन रहेको बताए।
उनका अनुसार भारतीय चिनी स्थानीय बजारमा सस्तोमा उपलब्ध हुँदा महाकाली चिनी मिलले उत्पादन गरेको चिनी पूर्वी जिल्लामा निर्यात गर्नुपर्ने अवस्था थियो। अहिले भारतमा चिनीको मूल्य बढेपछि भने स्थानीय उत्पादनको माग बढ्न थालेको छ।
महाकाली चिनी मिलले यसपटक १ लाख ८३ हजार क्विन्टल चिनी उत्पादन गरेको जनाएको छ। त्यसमध्ये हालसम्म १ लाख २३ हजार क्विन्टल बिक्री भइसकेको मिलको भनाइ छ। तिहारका लागि मात्रै करिब ५० हजार क्विन्टल चिनी खपत हुने अनुमान गरिएको छ।
भारतमा चिनीको मूल्य बढेसँगै सीमावर्ती नेपाली बजारमा उपभोक्ताले महँगो मूल्य तिर्नुपरे पनि यसले नेपालमै उत्पादित चिनीको बजार विस्तार गर्ने अवसरसमेत सिर्जना गरेको उद्योगीहरूको भनाइ छ।
