धनगढी- नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी फिर्ता लिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेपछि बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।


एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री शाहले राजनीतिक सहमति र सत्ता साझेदारीको भावना विपरीत एकपक्षीय निर्णय गरेको आरोप लगाए।

उनले मुख्यमन्त्रीले व्यक्तिगत दम्भका आधारमा सरकार सञ्चालन गरेको र बजेटमा करिब पाँच अर्ब रुपैयाँ आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित गरेको दाबी गरे।
एमालेले समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम प्रदेश सरकारको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ। अब मुख्यमन्त्री शाहले प्रदेश सभामा बहुमत कायम राख्न सक्छन् वा सक्दैनन् भन्ने विषय आगामी राजनीतिक घटनाक्रमले तय गर्नेछ।
