आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। यी क्षेत्रमा आगामी केही घण्टासम्म थप वर्षा हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।



आज र भोलि मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्का अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएको छ। यही प्रणालीका कारण देशका विभिन्न भागमा भारीदेखि धेरै भारी वर्षाको अवस्था सिर्जना हुन लागेको हो।
महाशाखाले भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने जनाएको छ। साथै सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।




