धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले पदभार ग्रहण गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार सरुवा भई आएका डीआईजी भट्टराईले आज प्रदेश प्रहरी कार्यालयमा हाजिर भई औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।



पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृत, महेन्द्रनगर तथा कैलाली–कञ्चनपुरका विभिन्न प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी कर्मचारीहरूले उहाँलाई स्वागत गरेका थिए ।


पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी भट्टराईले प्रदेशको शान्ति सुरक्षा अवस्था, प्रहरी जनशक्ति व्यवस्थापन तथा समग्र सुरक्षा चुनौतीबारे जानकारी लिएका छन् । साथै, उनले अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिकमैत्री र द्रुत प्रहरी सेवा, सुशासन, मानव अधिकार संरक्षण, लागूऔषध तथा तस्करी नियन्त्रण तथा गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।