

धनगढी- सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेट सिलिङ विवाद चर्किएपछि प्रदेश सरकार अन्योलमा परेको छ। विवादका कारण सोमबार साँझ ५ बजेका लागि तय गरिएको प्रदेश सभा बैठकसमेत सुरु हुन सकेको छैन।


मुख्य विवाद भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा केन्द्रित छ। सुरुमा ७ अर्ब ५३ करोड ९१ लाख रुपैयाँको सिलिङ तोकिएकोमा एमालेले उक्त बजेट बढाएर करिब १२ अर्ब रुपैयाँ पुर्याउनुपर्ने अडान राखेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले अन्तिम समयमा सिलिङ बढाउन नसकिने बताएपछि विवाद थप चर्किएको हो।



सहमति नजुट्दा मन्त्रिपरिषद् बैठकसमेत बस्न सकेको छैन। मुख्यमन्त्री शाहले अर्थ विविध शीर्षकबाट व्यवस्थापन गर्ने मध्यमार्गी प्रस्ताव अघि सारे पनि एमालेले तत्काल कम्तीमा २ अर्ब रुपैयाँ थप गर्नुपर्ने माग राखेको छ।
यसबीच प्रदेश सभा बैठकमा सत्तापक्षका अधिकांश मन्त्री तथा सांसद अनुपस्थित भएपछि विपक्षी सांसदहरूले सरकारको आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद ओमविक्रम भाटले सत्ता गठबन्धनको आन्तरिक कलहका कारण बजेट अन्योलमा परेको टिप्पणी गरेका छन्।
अनौपचारिक छलफल जारी रहे पनि प्रदेश सरकारले करिब ३८ अर्ब रुपैयाँको बजेट सोमबार राति ९ बजे प्रस्तुत गर्ने तयारी गरेको छ।