सर्पदंशको उच्च जोखिममा कैलाली, १५ वर्षमा ६६ घटना

धनगढी- कैलालीमा गर्मीयाम सुरु भएसँगै सर्पदंशका घटनाहरू बढ्दै गएका छन्। गौरीगङ्गा नगरपालिका–७ महुलियामा २०८१ भदौ ९ गते राति सर्पले टोकेपछि पाँच वर्षीया लीजा र छ वर्षीया काजलको मृत्यु भएको थियो। उनीहरू आफ्नी ७२ वर्षीया हजुरआमा रीजु घर्तीमगरसँग बस्दै आएका थिए। सोही रात तीनैजनालाई सर्पले टोके पनि हजुरआमा भने बाँच्न सफल भइन्।

यस्तै, २०८१ असोज ८ गते गौरीगङ्गा–८ राजीपुरमा बाजुराका दृष्टिविहीन ४० वर्षीय सर्जन बुढाको पनि सर्पदंशका कारण मृत्यु भएको थियो। यी घटनाले कैलालीमा सर्पदंशको जोखिम गम्भीर बन्दै गएको देखाउँछन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो १५ वर्षमा देशभर सबैभन्दा धेरै सर्पदंशका घटना कैलालीमा दर्ता भएका छन्। कैलालीमा ६६ घटना, १९ जनाको मृत्यु र ७० जना घाइते भएका छन्। कञ्चनपुरमा ३७ घटना, ४ जनाको मृत्यु र ५५ जना घाइते भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार कैलालीमा सर्पदंशका घटना धेरै भए पनि समयमै उपचार सुविधा उपलब्ध भएकाले मृत्युदर तुलनात्मक रूपमा कम रहेको छ। हाल सेती प्रादेशिक अस्पताल र लम्कीचुहा अस्पताल मा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् भने मलाखेतीमा नयाँ केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ।

यसैबीच, धनगढी उपमहानगरपालिका को प्रहरी रेस्क्यु टोलीले घर तथा बस्तीमा फेला परेका सर्प सुरक्षित रूपमा उद्धार गरी जंगलमा छाड्ने अभियान सञ्चालन गर्दै आएको छ। उपमहानगरपालिकाले हालसम्म तीन हजारभन्दा बढी सर्प उद्धार गरिसकेको छ भने गर्मीयाममा दैनिक आठ वटासम्म सर्प समातेर जंगलमा छाड्ने गरेको जनाएको छ।

Loading...