सुदूरपश्चिम प्रदेशको बजेट अन्तिम चरणमा, आकार घट्न सक्ने

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी अन्तिम चरणमा पुर्‍याएको छ। कानुनी व्यवस्था अनुसार असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने भएकाले सबै मन्त्रालयहरूले बजेट निर्माणको काम तीव्र रूपमा गरिरहेका छन्।

आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमका अनुसार सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान तथा बजेट घटेकाले आगामी वर्ष प्रदेशको कुल बजेट आकार पनि चालु वर्षको तुलनामा सानो हुन सक्ने देखिएको छ। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेट ३३ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ रहेको छ।

Navadurga sun

प्रदेश सरकारले अधुरा तथा निर्माणाधीन योजनालाई प्राथमिकता दिने नीति लिएको छ। नीति तथा कार्यक्रममा २५ लाख रुपैयाँभन्दा कम लागतका नयाँ विकास आयोजनामा बजेट विनियोजन नगर्ने उल्लेख गरिएको छ। यस्ता योजना आवश्यक परे स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणबाट कार्यान्वयन गरिने जनाइएको छ।

त्यस्तै, प्रदेश सरकारले उपभोक्ता समितिमार्फत योजना सञ्चालन नगर्ने तथा व्यक्ति वा निजी फर्मको नाममा बजेट विनियोजन नगर्ने नीति पनि अवलम्बन गर्ने भएको छ।

केही दिनअघि प्रदेश सभामा सम्बोधन गर्दै आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सबै पक्षको सहभागितामा जनमुखी र यथार्थपरक बजेट निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...