

अत्तरिया- संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेशको टीकापुर मा शनिबारदेखि उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन सुरु हुँदैछ।


सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी ले गर्नेछन्। समारोहलाई सभामुख अर्याल, अध्यक्ष दाहाल तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।



जेठ २३ र २४ गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख रूबी कुमारी, राष्ट्रियसभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारी लगायत संघीय संसदका पदाधिकारी धनगढी पुगिसकेका छन्।
शनिबार हुने बन्द सत्रमा संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया तथा संस्थागत सुधारसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ। संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे ले ‘लेजिस्लेटिभ एकेडेमी’ तथा ‘संसदीय अनुगमन कार्यमा एकरूपता’, सूचना प्रविधि विज्ञ विनित सत्याल ले ‘डिजिटल पार्लियामेन्ट’, संविधानसभा सदस्य खिमलाल देवकोटा ले ‘कानुन निर्माण प्रक्रियामा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय’ तथा पूर्वसचिव डा. सुरेन्द्र अर्याल ले ‘आदर्श बजेट निर्माण प्रक्रिया’ विषयमा प्रस्तुति दिनेछन्।
सम्मेलनमा संघीयता कार्यान्वयनको अवस्था, सभा सञ्चालनका असल अभ्यास, अन्तर–व्यवस्थापिका समन्वय तथा आगामी कार्यदिशाबारे छलफल हुनेछ। सम्मेलनको दोस्रो दिन संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय ले ‘टीकापुर घोषणापत्र’को मस्यौदा प्रस्तुत गर्नेछन्। आवश्यक छलफलपछि उक्त घोषणापत्र पारित गरी सम्मेलन समापन गरिने कार्यक्रम रहेको छ।