गणतन्त्र नेपाली जनताको ऐतिहासिक उपलब्धि : मुख्यमन्त्री शाह

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ले गणतन्त्र नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ।

१९औँ गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले गणतन्त्र स्थापना केवल शासन प्रणाली परिवर्तन नभई जनताको सार्वभौम अधिकार, आत्मसम्मान, समानता र लोकतान्त्रिक आकांक्षाको विजय भएको उल्लेख गर्नुभयो। वि.सं. २०६५ साल जेठ १५ गते स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राज्य सञ्चालनमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेको उहाँको भनाइ थियो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मुख्यमन्त्री शाहले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात तथा अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। साथै परिवर्तनका पक्षमा उभिने राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण जनताप्रति सम्मान व्यक्त गर्नुभयो।

उहाँले सुदूरपश्चिम प्रदेश प्राकृतिक स्रोत, कृषि, पर्यटन, जलस्रोत, जडीबुटी र सीमापार व्यापारका हिसाबले अत्यन्त सम्भावनायुक्त रहेको बताउनुभयो। भारत र चीनजस्ता ठूला आर्थिक शक्तिसँगको भौगोलिक निकटताले प्रदेशलाई व्यापार तथा लगानीको केन्द्र बन्ने अवसर प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो।

प्रदेश सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मुख्यमन्त्री शाहले आत्मनिर्भर र समुन्नत सुदूरपश्चिम निर्माणका लागि संघ, स्थानीय तह, निजी क्षेत्र तथा नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सामाजिक सद्भाव कायम राख्न सबैलाई एकजुट हुन आह्वान गर्नुभयो।

Loading...