

पश्चिमी वायु सक्रिय भएसँगै आज शुक्रबारदेखि देशभर मौसम बदली भई वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार यसको प्रभाव भोलि शनिबारसम्म कायम रहनेछ।


विभागका अनुसार आज दिउँसोदेखि देशका विभिन्न भागमा बादल लाग्नेछ भने साँझतिर हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सुरु हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा यसको प्रभाव बढी देखिने सम्भावना छ।



काठमाडौं उपत्यकामा पनि आज साँझदेखि वर्षा हुने सम्भावना रहेको छ। विभागका वरिष्ठ मौसमविद बरुण पौडेल ले शुक्रबार र शनिबार उपत्यकामा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएका छन्।
मौसमविदहरूका अनुसार प्रिमनसुनको समय भएकाले यस अवधिमा हावाहुरी, चट्याङ र असिनाको जोखिम बढी हुने गर्दछ। त्यसैले सर्वसाधारण तथा किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ, जसले तापक्रम घटाएर चिसो बढाउनेछ। साथै, देशका विभिन्न भागमा भइरहेको वर्षा र हिमपातको क्रम शनिबार दिउँसोसम्म जारी रहने अनुमान गरिएको छ।
विभागले सम्भावित वर्षा, हुरी तथा चट्याङका कारण हुन सक्ने क्षतिबाट जोगिन सतर्क रहन र नियमित मौसम अपडेट लिन सबैलाई आग्रह गरेको छ।

