दुर्गालक्ष्मी क्याम्पसका विद्यार्थीलाई अटोमा २०% छुट, आवतजावत सहज बनाउने सम्झौता

अत्तरिया- कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि आवतजावत अब थप सहज र किफायती हुने भएको छ । क्याम्पस प्रशासन र सुदूरपश्चिम अटो यातायात प्रा.लि.बीच विद्यार्थीलाई अटो भाडामा २० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा औपचारिक सम्झौता भएको हो ।

बुधवार आयोजित कार्यक्रममा क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐर र सुदूरपश्चिम अटो यातायात प्रा.लि.का सञ्चालक अध्यक्ष सिताराम कठायतले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुवै पक्षबीच भएको सहमतिअनुसार क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफ्नो परिचयपत्रका आधारमा प्रत्येक यात्रामा २० प्रतिशतसम्म भाडा छुट पाउने व्यवस्था गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

सम्झौताअनुसार अटो सेवा क्याम्पस सञ्चालन अवधिभर नियमित र व्यवस्थित रूपमा उपलब्ध गराइनेछ । सेवा मार्ग अत्तरिया, स्याउले, धनगढी, गोदावरी, ओलानी तथा गुलरिया क्षेत्रदेखि क्याम्पससम्म रहने जनाइएको छ । ती क्षेत्रबाट दैनिक रूपमा ठूलो संख्यामा विद्यार्थी क्याम्पसमा आवतजावत गर्दै आएका छन् ।

Dadeldhura hospital

क्याम्पस प्रमुख डा. ऐरले यस पहलले विशेषगरी टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे । उनले यातायात खर्च घट्दा विद्यार्थीको आर्थिक भार कम हुनुका साथै नियमित उपस्थितिमा समेत सुधार आउने अपेक्षा गरिएको बताए ।

त्यस्तै, सुदूरपश्चिम अटो यातायात प्रा.लि.का सञ्चालक अध्यक्ष कठायतले सम्झौताअनुसार सेवा गुणस्तरीय र समयमै उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थीको सहज आवतजावत सुनिश्चित गर्न आवश्यक समन्वय र व्यवस्थापन गरिने जानकारी दिए ।

क्याम्पस प्रशासनका अनुसार यो सम्झौता २०८४ साल माघ २७ गतेसम्म कायम रहनेछ । उक्त अवधिमा सेवा प्रभावकारी भएमा आगामी दिनमा थप सहकार्यको सम्भावना पनि खुला रहने जनाइएको छ ।

यस व्यवस्थाले विद्यार्थी, अभिभावक तथा क्याम्पस समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ । यातायातमा छुटको सुविधा लागू भएसँगै विद्यार्थीको शैक्षिक वातावरण अझ सहज र अनुकूल बन्ने अपेक्षा गरिएको छ ।

Loading...