दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको २०औँ वार्षिकोत्सव भव्य रूपमा सञ्चालन, आज सम्पन्न हुँदै

लक्ष्मी भट्ट/अत्तरिया- दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, गोदावरी नगरपालिका–२, अत्तरिया, कैलालीले क्याम्पसको २०औँ वार्षिकोत्सव कार्यक्रम माघ १८ गतेदेखि भव्य रूपमा सञ्चालन गरिरहेको छ। कार्यक्रम माघ २३ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

वार्षिकोत्सवको अवसरमा छात्रछात्रा दुवैको सहभागितामा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू आयोजना गरिएको छ। जसअन्तर्गत हाजिरजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, भलिबल, फुटबल, कबड्डी, क्रिकेट, ब्याडमिन्टन, बागचाल, टेबल टेनिस, सटपुट, लङ जम्प, हाई जम्प, दौड लगायतका खेलकुद समावेश छन्। म्युजिक चेयर प्रतियोगिता भने छात्राहरूका लागि मात्र आयोजना गरिएको छ।

Navadurga sun

यस्ता खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूको चौतर्फी विकासमा टेवा पुग्नुका साथै नवप्रतिभा पहिचान र विकासका लागि प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

क्याम्पस प्रमुख डा. नरेन्द्रबहादुर ऐरले यस वर्षको वार्षिकोत्सव कार्यक्रम अघिल्ला वर्षहरूको तुलनामा अझ भव्य रूपमा आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा समेत सहयोग पुर्‍याउनेछ।

त्यसैगरी, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख हर्कबहादुर साउदले खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू वार्षिकोत्सवको अवसरमा मात्र सीमित नराखी समय–समयमा आयोजना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। यसो गर्न सके क्याम्पसले नवप्रतिभाको पहिचान, विकास तथा दक्ष जनशक्तिको उत्पादनमा थप योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

उहाँले वार्षिकोत्सवका अवसरमा आयोजना गरिएका खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा विजयी विद्यार्थीहरूलाई पुरस्कार केही दिनपछि वितरण गरिने जानकारी पनि दिनुभयो।

ADD Khali jpg
ADD Khali jpg
Loading...