महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) को २५औँ स्थापना दिवस (रजत जयन्ती) का अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु गरिएको छ।


राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतनाको अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको झण्डा मार्चको शुभारम्भ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला र सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप पालले गरेका हुन्।



सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका अनुसार झण्डा मार्चमार्फत सशस्त्र प्रहरी बलको भूमिका जनस्तरमा जानकारी गराउने, राष्ट्रप्रति समर्पणको भावना सुदृढ बनाउने तथा संगठनभित्र समन्वय र टोली भावना बलियो बनाउने लक्ष्य लिइएको छ। साथै सीमा क्षेत्रका नागरिक, स्थानीय तह र सरोकारवाला निकायसँग जनसम्पर्क विस्तार गर्ने उद्देश्यसमेत रहेको छ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम बाहिनी प्रमुख नायब महानिरीक्षक प्रदीपकुमार पालले सशस्त्र प्रहरीले स्थापनाकालदेखि नै देश र जनताको सुरक्षा तथा हितमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले संक्रमणकालदेखि हालसम्मका विभिन्न सुरक्षा चुनौतीहरूलाई राज्यले दिएको कार्यादेशअनुसार सामना गर्दै आएको उल्लेख गर्दै सशस्त्र प्रहरी बल सक्षम र भरपर्दो सुरक्षा निकायका रूपमा स्थापित हुँदै गएको बताए।
पश्चिमबाट सुरु भएको झण्डा मार्च आगामी मङ्गलबार कैलाली पुग्नेछ भने त्यसपछि सुदूरपश्चिम सशस्त्र प्रहरी बलले शुक्रबार बर्दियालाई हस्तान्तरण गर्ने जनाएको छ। सीमाक्षेत्र हुँदै ३५ सदस्यीय टोली पैदल मार्चमा सहभागी भएको छ। मार्चको १९औँ दिनमा पश्चिमी नाका गड्डाचौकी र पूर्वको झापाबाट आएको सशस्त्र प्रहरी बलको टोली नवलपुरमा भेटिनेछ।
झण्डा मार्च शुभारम्भ कार्यक्रममा भीमदत्त नगरपालिकाका नगरप्रमुख निलम लेखक तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो। रासस





