शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी पूरा

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राष्ट्रिय बाघ गणनाअन्तर्गत बाघ गणनाको तयारी पूरा भएको छ। बाघको पछिल्लो सङ्ख्या र अवस्थालाई अद्यावधिक गर्ने उद्देश्यले नेपाललाई तीन क्लस्टरमा विभाजन गरी गणना गरिँदै आएको छ, जसअन्तर्गत तेस्रो क्लस्टरमा पर्ने शुक्लाफाँटामा अन्तिम चरणको गणना हुने निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार गणनाका लागि आवश्यक आन्तरिक तयारी पूरा भइसकेको छ। सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा बाघ अभिलेख भएका थिए। यद्यपि, निकुञ्ज कार्यालयको आन्तरिक अनुगमनअनुसार यस वर्ष ४३ वटा बाघ फेला परेका छन्। गत वर्ष क्यामरा ट्र्यापमा ४४ बाघ देखिएकामा यस वर्ष एक वटा घटेको निकुञ्जले जानकारी दिएको छ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

क्यामरामा नपर्नु वा मृत्युका कारण यस पटक एक बाघ फेला नपरेको हुन सक्ने वाग्लेको भनाइ छ। उनका अनुसार हालसम्म निकुञ्जमा दुई वटा बाघ प्राकृतिक कारणले मृत्यु भइसकेका छन्।

सानो क्षेत्रफल रहेको शुक्लाफाँटामा बाघको सङ्ख्या बढी भए पनि व्यवस्थापनमा समस्या नरहेको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्ज क्षेत्रमा आहारा प्रजातिको घनत्व पर्याप्त भएकाले बाघले समस्या नदिएको बताइएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रतिवर्गकिलोमिटरमा आहारा प्रजातिको घनत्व १४६ रहेको छ, जुन नेपालमै सबैभन्दा बढी हो।

सूचना अधिकारी वाग्लेका अनुसार बाघलाई हप्तामा करिब ५० केजी मासु आवश्यक पर्छ र सामान्यतया हप्तामा एक पटक सिकार गर्ने गर्छ। बाघका प्रमुख आहारा प्रजातिमा मृग समूह पर्छन्। नेपालमा पाइने छ प्रकारका मृगमध्ये कस्तूरीबाहेक जरायो, बाह्रसिङ्गा, चित्तल, रतुवा र लगुना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छन्। बाघ गणनासँगै आहारा प्रजातिको गणना गरी घनत्व पनि निकालिने जनाइएको छ।

एउटा भाले बाघले ५० देखि ६० वर्गकिलोमिटर र पोथी बाघले २० देखि ३० वर्गकिलोमिटर क्षेत्र आफ्नो आवास बनाउने गरेको छ। नेपालमा प्रत्येक चार वर्षको अन्तरालमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ। चितवन, बाँके र बर्दियामा गणना सम्पन्न भइसकेको छ भने अन्तिम चरणमा शुक्लाफाँटामा गणना हुने राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए । नेपालमा सन् २०२२ को तथ्याङ्क अनुसार कुल ३५५ वटा बाघ रहेका छन् ।

Loading...