विपिन जोशीको सम्झनामा एक दिन राष्ट्रिय शोक बिदा होस् : युवा नेता आगो

अत्तरिया- नेपाली कांग्रेस गोदावरीका युवा नेता लोकराज पाण्डे “आगो” ले सुदूरपश्चिमका युवा विपिन जोशीको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकारले पनि राष्ट्रिय स्तरमा उनको योगदान र बलिदानप्रति सम्मान जनाउन एक दिन राष्ट्रिय शोक बिदा घोषणा गर्नुपर्ने सुझाव दिएका छन् ।

पाण्डेले इजरायल सरकारले विपिन जोशीको निधनमा एक दिनको शोक बिदा घोषणा गरेको निर्णयको प्रशंसा गर्दै भनेका छन्, “नेपाल सरकारले पनि सुदूरपश्चिमका प्रतिभाशाली युवाको सम्झनामा राष्ट्रिय शोक बिदा घोषणा गरेर सन्देश दिनुपर्छ कि देश आफ्ना नागरिकप्रति संवेदनशील छ ।”

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले विपिन जोशीको नाममा कुनै सार्वजनिक स्थल, मार्ग वा शैक्षिक संस्था नामाकरण गर्नुपर्ने सुझाव पनि दिएका छन् । उनका अनुसार विपिनले “अर्न एण्ड लर्न ” कार्यक्रममार्फत अध्ययनसँगै आत्मनिर्भर बन्ने मार्गमा अघि बढेका युवाको प्रेरणादायी उदाहरण प्रस्तुत गरेका थिए ।

पाण्डेले लेखेका छन्, “विपिन जोशीको नाममा कुनै पार्क वा सार्वजनिक सम्पत्तिको नाम राख्दा आगामी पुस्तालाई उनको योगदान र संघर्ष सम्झन प्रेरणा मिल्नेछ ।”

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत रहँदा अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत दुई वर्षअघि इजरायल पुगेका विपिन जोशी हमासको आक्रमणमा परेका थिए । आक्रमणका क्रममा उनी हमासद्वारा अपहरणमा परेका थिए । दुई वर्षपछि हमासले उनको शव इजरायललाई हस्तान्तरण गरेपछि डीएनए परीक्षण मार्फत उनको मृत्यु पुष्टि भएको थियो ।

विपिन जोशीको निधनले सुदूरपश्चिमका युवामाझ गहिरो शोक फैलिएको छ । सामाजिक सञ्जालहरूमा उनको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली सन्देशहरू प्रवाह भइरहेका छन् ।

 

Loading...