बिउ खेतीबाट कैलालीका किसानको आम्दानी बढ्दै, गुणस्तरीय बिउ उत्पादनमा आत्मनिर्भर

​​​​​​​धनगढी- कैलालीको गोदावरी नगरपालिका-८ का किसान बुद्धिराम चौधरी गुणस्तरीय बिउ बिक्रीबाट आम्दानी बढ्न थालेपछि बिउ खेतीमै रमाएका छन्। गुणस्तरीय बिउ तयार पार्न बिउ कम्पनीको प्राविधिक सहयोगमा उनको खेतमा यतिबेला गरिएको हर्दिनाथ-६सर्जू-५२ जातको धानखेती सप्रेको छ। उनले गहुँको मूल बिउ पनि उत्पादन गर्दै आएका छन् ।

वार्षिक प्रतिकठ्ठा एक हजार पाँचसय रुपैयाँमा अढाई बिघा जग्गा भाडामा लिई मूल बिउका लागि खेती गर्दै आएका चौधरीले भने ‘गुणस्तरीय बिउ उत्पादनमा मेहनत, सिँचाइ, मलखाद, खनजोत लगायतको लागत खर्च कटाएर वार्षिक तीन देखि चार लाख रुपैयाँ बचत भइरहँदा सन्तुष्ट छु, अझैँ थप जग्गा भाडामा लिएर बिजवृद्धि गर्ने लक्ष्य लिएको छु।’

जिल्लाको पूर्वी क्षेत्र जानकी गाउँपालिकाको मुनुवा गाउँका विजयकुमार कठरिया केही वर्षयता कैलाली जिल्ला धान र गहुँको गुणस्तरीय बिउ उत्पादनमा आत्मनिर्भर बनेको बताउछन्।  उनी आफ्नो तीन बिघा जग्गामा यतिबेला सर्जु-५२चैते-५२ जातको धानबालीको बिजवृद्धि गरिरहेका छन्।

बिजवृद्धि सहकारी संस्था, मुनुवाका अध्यक्षसमेत रहेका कठरियाले भने,’बिजवृद्धि कार्यक्रममा समेटिएका किसानले उत्पादन गरेको विभिन्न बालीको बिउ सहकारी संस्थाले खरिद गरिदिँदा किसानले उचित मूल्य पाएर उनीहरुको आम्दानी वृद्धिमा सहयोग मिलेको छ, बिजवृद्धिमा लागेका किसानको सहुलियत मूल्यमा पाकेको बालीको थ्रेसिङ गर्ने, खेतको खनजोत गर्ने जस्ता सहयोग पनि संस्थाले उपलब्ध गराइरहेको छ।’

Ganyapdhura gau

सहकारी संस्था र बिउबिजन कम्पनीले बिजवृद्धिमा लागेका किसानको बिउ सरकारले तोकेको मूल्य भन्दा बढी मूल्यमा खरिद गरी बजारमा बिक्रीका लागि पठाउने गर्छन्। ‘देशमा कृषि क्रान्ति गर्नुपर्छ भनेर किसानलाई उठाउने अभियानमा हामी लागेका छौँ’ कठरियाले भने, ‘जिल्लामा उत्पादन भएको गहुँ, धान, दलहन र तेलहनको गुणस्तरीय बिउ सर्लाही, सप्तरी, सुर्खेत, पाल्पा जिल्लाबाट माग आउँदा बिजवृद्धिमा लागेकाहरुमा हौसला मिलेको छ।’

किसानले बिजवृद्धिबाहेक आफ्नो घरायसी उपभोगका लागि पनि खाद्यानको खेती गर्दै आएका छन्। बिजविद्धि सहकारी संस्था मुनुवामा समेटिएका किसानले  एक सय हेक्टर जग्गामा बिजवृद्धि गरिरहेका छन्। बिजवृद्धिमा लाग्दा कृषि उपजको उचित मूल्य पाइरहेको भए पनि समयमै मलखादको अभावको समस्या झेल्नु परेको किसानले बताएका छन्।

कैलाली जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको गुणस्तरीय बिउ आवश्यकता पर्ने गरेकोमा उक्त परिमाण भन्दा बढी बिउ उत्पादन भइरहेको छ। गहुँको उन्नत बीउ उत्पादनको हकमा कैलाली जिल्ला देशमै पहिलो स्थानमा छ’  कृषि निर्देशनालय दीपायलका निर्देशक खगेन्द्रप्रसाद शर्माले भने, ‘गहुँ र धानको गुणस्तरीय बीउ उत्पादनमा जिल्ला आत्मनिर्भर भइसकेको छ।’

जिल्लामा झण्डै ७२ हजार ५०० हेक्टर जग्गामा बर्खे धानखेती र ३५ हजार हेक्टरमा गहुँखेती हुने गरेको छ। कतिपय क्षेत्रमा बर्खे धान र चैते धान गरेर वर्षमा दुई पटक धानखेती हुने गरेको छ। प्रति हेक्टरमा धानखेती गर्न ५० किलो र गहुँखेती गर्न १२० किलो गुणस्तरीय बिउ आवश्यक पर्ने कृषि प्राविधिको भनाइ छ।

Navadurga sun

सरकारी स्वामित्वको बिउबिजन कम्पनीले उन्नत बिउको उत्पादन र बिक्री गर्दै आएकोमा पछिल्ला वर्षमा सहकारी संस्था, निजी बिउबिजन कम्पनी, र किसान समूहलेसमेत गुणस्तरीय बिउ उत्पादन गर्दै आएका छन्।

Dadhaldhura pur

कतिपय बिउ कम्पनीले सरकारबाट अनुमति लिएर धान र मकैमा हाइब्रिड उत्पादनसमेत गर्न थालेका छन्। खाद्यान्ह बालीको उत्पादन र उत्पादकत्व बढाउन नयाँ जातको बिउको विकास भएको मात्र नभइ खेती गर्न नयाँ–नयाँ प्रविधिसमेत भित्रिन लागेकोले खेती गर्दा लागत खर्चपनि घटेको बताइन्छ।

घरमै राखिएको स्थानीय जातको बिउको प्रयोग गर्दाको तुलनामा उन्नत बिउको प्रयोगले धान र गहुँबालीको उत्पादकत्व पनि वृद्धि भइरहेको छ। पञ्चशक्ति सिड कम्पनी धनगढीका प्रमुख विष्णुराज बुर्लाकोटी जिल्लामा उत्पादन भएको गहुँ र मकैको बिउ बढी मात्रामा जिल्ला बाहिर जाने गरेको बताउँछन्।  

उन्नत बिउको प्रयोग बढेसँगै रैथाने जातको कालो धान, आइरेट, गुर्रा, राइमनुवा, सौंटेरी जस्ता धानको बिउ भने हराउन थालेको किसानको भनाइ छ।

कृषि प्राविधिक स्थानीय जातको बिउ प्रयोग गर्दा हुने उत्पादकत्वको तुलनामा उन्नत जातको बिउ प्रयोगले २० देखि २५ प्रतिशतले उत्पादकत्व वृद्धि हुने गरेको बताउँछन् । बालीको उत्पादकत्व वृद्धि भइरहेको भए पनि नेपालमा बर्सेनि ठूलो परिमाणमा खाद्यान्ह विदेशबाट आयात भइरहेको तथ्याङ्क छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...