

कञ्चनपुर- पञ्चायतकालमा ट्याक खोलेर जोडिएको कञ्चनपुरको वेदकोट नगरपालिका–दैजीदेखि डडेल्धुराको जोगबुढासम्मको सडक नौ वर्षअघि ठेक्का सम्झौता भएको भए पनि अझै कालोपत्र सम्पन्न हुन सकेको छैन। स्थानीयले दैनिक सास्ती खेप्दै आएका छन् ।


कञ्चनपुरको वेदकोट नगरपालिका–दैजीदेखि डडेल्धुरा सिमाना लिप्नासम्म १२ किलोमिटर सडक कालोपत्र गर्न २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।


ठेक्काअनुसार २०७६ साउन ५ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्र भएको छ। बाँकी सात किलोमिटर अझै निर्माण हुन बाँकी छ। पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका अनुसार हालसम्म निर्माण कम्पनीलाई १८ करोड ३६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
“सडक निर्माण सुस्त छ भन्ने कुरा हामी स्वीकार गर्छौँ,” पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले भने, “यो वर्ष ५० लाख रुपैयाँ बजेट आएको छ, अहिले मर्मत कार्य भइरहेको छ। काम भएमा बजेट रकमान्तर गरेर भुक्तानी गर्न सकिन्छ।”
निर्माण कार्य ढिलो हुँदा कार्यालयले पाँचौँ पटक म्याद थप्दै २०८२ असार २० गतेसम्म काम सकाउने समय दिएको छ। तर, सो अवधिसम्म पनि काम पूरा हुने निश्चित छैन। गत आर्थिक वर्षमा सडक निर्माणको काम नगर्दा एक करोड रुपैयाँ बजेट फ्रिज भएको कार्यालयले जनाएको छ।

स्थानीय बासिन्दा केशव बोहरा भन्छन्, “पञ्चायतकालमा सुरु भएको सडक अझै कालोपत्र हुन सकेको छैन। हिउँदमा धुलाम्य हुन्छ, बर्सातमा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्छ।”
उनका अनुसार जोगबुढासम्मको ३१ किलोमिटर सडक राम्रो बनेको भए तराई र डडेल्धुराबीचको दूरी छोटिन्थ्यो, तर अहिले स्थानीयले करिब १५० किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपरेको छ।
डडेल्धुराको आधा जनसंख्या रहेको भित्री मधेस क्षेत्रलाई तराईसँग जोड्ने यो सडक भीमदत्त राजमार्गको विकल्पका रूपमा हेरिन्छ। तर, सडक निर्माण नहुँदा दैनिक आवतजावत, व्यापार, शिक्षा र स्वास्थ्य सेवामा स्थानीयले कठिनाइ भोगिरहेका छन्। कच्ची सडककै कारण प्रत्येक वर्ष सडक दुर्घटनामा परेर स्थानीयले ज्यान गुमाउँदै आएका छन्।
वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराका अनुसार दैजी–जोगबुढा सडकको ट्याक पञ्चायतकालको अन्त्यतिर, सन् १९८९ (२०४६ सालतिर) नै खुलेको थियो।
“तर सडक अझै निर्माणकै अवस्थामा छ,” नगरप्रमुख बोहराले भने, “केही वर्षअघि पहिरोले सडक र आसपासका संरचना क्षतिग्रस्त भएका थिए, त्यसपछि काम सुस्त भयो।”
दैजी–जोगबुढा सडक तराई–पहाड जोड्ने छोटो दूरीको मार्ग भएकाले यसलाई क्षेत्रीय प्राथमिकताको परियोजना बनाउन स्थानीयले माग गरेका छन् । उनका अनुसार सडक निर्माण पूरा भएमा तराई र पहाडबीचको आवतजावत सहज हुने, आर्थिक गतिविधि बढ्ने र दुर्घटनाको जोखिम घट्नेछ ।