अस्ति शुक्रबारदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण देशभर विभिन्न स्थानमा बाढी, पहिरो र चट्याङका घटनाहरू बढेका छन् । यी प्राकृतिक विपद्कारण हालसम्म ४४ जनाले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबारसम्मको विवरण सार्वजनिक गर्दै भनेको छ — सबैभन्दा ठूलो मानवीय क्षति इलाम जिल्लामा भएको हो । इलाममा मात्रै ३७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।


त्यसैगरी, पाँचथरमा २ जना (१ जना पहिरोमा पुरिएर र १ जना खोलाले बगाएर) र उदयपुरमा १ जना खोलाले बगाउँदा ज्यान गएको छ । रौतहटमा चट्याङको प्रकोपबाट ३ जनाको मृत्यु भएको छ ।
विपद् प्राधिकरणका अनुसार, अहिलेसम्म ५ जना हराइरहेका छन् — जसमा रसुवाबाट ४ जना र इलामबाट १ जना समावेश छन्। घाइतेको संख्या १६ पुगेको छ। तीमध्ये इलाममा ८, भोजपुरमा ३, खोटाङमा ३, पाँचथरमा १ र मकवानपुरमा १ जना रहेका छन् ।
अत्यधिक वर्षाका कारण इलामको माङसेबुङ गाउँपालिकामा फसेका २ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । यसैबीच, वर्षाकै कारण पूर्वी पहाडी जिल्ला पाँचथरमा भएको जीप दुर्घटनामा ६ जनाको ज्यान गएको समाचार पनि प्राप्त भएको छ ।
सडक, पुल र विद्युत् लाइनहरू समेत प्रभावित हुँदा यातायात र सञ्चार सेवा अवरुद्ध भएका ठाउँहरू धेरै छन् । स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्वयंसेवकहरूले उद्धार तथा राहत कार्य जारी राखेका छन् । सरकारले जोखिम क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई सावधानी अपनाउन र सुरक्षित स्थानमा सर्ने आग्रह गरेको छ ।
