सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना पक्राउ




धनगढी, ५ असाेज– कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका वडा नं. ८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ ।



कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको जानकारी प्राप्त भएको बताए ।


गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए । घाइते बीओपी दोधाराचाँदनीमा कार्यरत सुदीप सुनार सहितका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।



