बैतडीमा ८४ प्रतिशत फरार कैदी पक्राउ

बैतडी- यही भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण जिल्ला कारागार बैतडीबाट फरार भएका कैदीबन्दी पक्राउ गर्न जिल्लास्थित सुरक्षा निकायले सक्रियता देखाएका छन् । 

Ganyapdhura gau

संयुक्त सुरक्षा टोलीले कैन्दीबन्दी पक्राउ गर्ने ‘अप्रेसन’ सञ्चालन गरी हालसम्म ८४ प्रतिशत फरार कैन्दीलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले भने, ‘जिल्लाका सबै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरेर फरार कैदी समात्न अप्रेसन सञ्चालन गरेका छौँ । अहिलेसम्म ८४ प्रतिशत भागेका कैदी समात्न सफल भएका छौँ ।’

Navadurga sun
Godawari sandesh

भदौ २४ गते राति यहाँको कारागारमा आगजनी र तोडफोड भएपछि ६२ जना फरार भएका थिए । उनका अनुसार तीमध्ये ५२ जनालाई संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएर कारागारमा राखिसकेको छ। फरार कैदी समात्नका लागि संयुक्त अप्रेसनका साथै भारतीय सीमासुरक्षा बलसँग पनि समन्वय गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

Dadeldhura hospital

उनले भने, ‘कैदीहरू भागेपछि जिल्लाका सबै प्रहरी युनिट र भारतीय प्रहरीसँग समन्वय गरी कैदीको हुलिया पठाएका थियौँ । सबैको सक्रियतामा हालसम्म ५२ जना पक्राउ परेका छन् ।’ प्रहरी प्रवक्ता पाण्डेयका अनुसार ४८ जनालाई जिल्लाका विभिन्न स्थानबाट र चार जनालाई एसएसबीको सहयोगमा भारतको पिथौरागढ जिल्लाबाट पक्राउ गरिएको हो । 

कारागारबाट कैदी फरार भएपछि निजहरू भाग्न र लुक्नसक्ने स्थानको विश्लेषण गरेर अप्रेसन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए । उनले भने, ‘फरार कैदी खोज्न भारतीय प्रहरी, स्थानीय पालिकासँग समन्वय गर्नुका साथै हाम्रा प्रहरी युनिटलाई पनि सक्रिय गरेका हौँ ।’

संयुक्त अप्रेसनले बैतडीबाट फरारमध्ये ५२ जना र अन्य जिल्लाका कारागारबाट भागेर आएका ११ कैदीलाई पक्राउ गरिसकेको प्रहरी प्रमुख रायले जानकारी दिए । उनका अनुसार डडेल्धुराबाट छ, डोटीबाट चार र दार्चुला कारागारबाट भागेका एक जनालाई नियन्त्रणमा लिइएको हो । बाँकी फरारमध्ये १० जना कैदीको खोजी कार्य जारी रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । 

फरार बाँकी कैदीलाई कारागार फिर्ताका लागि अर्को सूचना जारी गर्ने तयारी भएको कारागार कार्यालय प्रमुख धारा भण्डारीले बताए । उनले भने, ‘यसअघि पनि फरार कैदीलाई आफैँ कारागार फिर्ताका लागि सूचना जारी गरेका थियौँ, तर सबै सम्पर्कमा आएनन्, फेरि अर्को सूचना जारी गर्छौैँ । नआए कानुनअनुसार थप कामकारबाही अगाडि बढाउँछौँ ।’

Couple
Loading...