धनगढी- सुदूरपश्चिम प्रदेशका विभिन्न तहका स्थानीय सरकारका जनप्रतिनिधिहरूले धम्की, आगजनी र अवाञ्छित क्रियाकलापका कारण सेवाप्रवाहमा अवरोध उत्पन्न भइरहेकाले नागरिकलाई सहज वातावरणमा सेवा दिन सुरक्षा प्रत्याभूति गर्न आग्रह गरेका छन्।


गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम अध्यक्ष लोकेन्द्र बहादुर शाही, नेपाल नगरपालिका सङ्घ सुदूरपश्चिम संयोजक वीरेन्द्र भट्ट र जिल्ला समन्वय समिति महासङ्घ सुदूरपश्चिम संयोजक गगन भण्डारीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै राज्यका सबै निकायलाई तत्काल आवश्यक पहल गर्न आग्रह गरेका हुन्।



विज्ञप्तिमा भनिएको छ, “सुदूरपश्चिम प्रदेश सरकारका र स्थानीय सरकारका प्रशासनिक भवन र सवारीसाधनमा आगजनी गर्ने, नागरिक तथा जनप्रतिनिधिहरूको निजी सम्पत्ति, उद्योग व्यवसायमा क्षति पु–याउने, साथै जनप्रतिनिधिहरूलाई राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति वा समूहहरूबाट धम्की आउने घटनाहरू भइरहेका छन्। तसर्थ, स्थानीय सरकारका सम्पत्ति तथा दस्तावेजहरूको सुरक्षा गर्न, सबै नागरिक तथा जनप्रतिनिधिहरूको जिउ–ज्यान, निजी सम्पत्ति तथा उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन सम्माननीय राष्ट्रपतिज्यू र सुरक्षा निकायहरूसमक्ष हार्दिक अनुरोध गर्दछौँ।”
विज्ञप्तिमा हालैको जेन–जेड पुस्ताका युवाहरूको आन्दोलनमा उठाइएका मागहरूप्रति समर्थन जनाइएको छ। भ्रष्टाचार अन्त्य, सुशासनको प्रत्याभूति र युवाको शासन व्यवस्थामा सहभागिता सुनिश्चित गर्नुपर्ने मागलाई स्थानीय सरकारहरूले जायज ठहर गरेका छन्।
तर, त्यही आन्दोलनको नाममा सार्वजनिक सम्पत्तिमा गरिएको आगजनी, ऐतिहासिक धरोहर नष्ट गर्ने, महत्त्वपूर्ण राष्ट्रिय दस्तावेज जलाउने, सरकारी कार्यालय तथा निजी निवासमा तोडफोड गर्ने गतिविधि अस्वीकार्य भएको भन्दै ती क्रियाकलापको घोर भर्त्सना गरिएको छ। जनप्रतिनिधिहरूप्रति गरिएको अमानवीय व्यवहारलाई मानवअधिकारविरोधी भन्दै ती घटनाप्रति गहिरो खेद व्यक्त गरिएको छ।
विज्ञप्तिमा स्थानीय सरकारका सम्पत्ति र सार्वजनिक संरचना जोगाउँदै, जनताप्रति सेवा प्रवाहलाई निरन्तरता दिन सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई उच्च मनोबलका साथ अघि बढ्न पनि आह्वान गरिएको छ।





