बझाङकी तुलसीदेवीले ९६ वर्षमा पाइन् नागरिकता

बझाङ । खप्तडछान्ना गाउँपालिका-५ पिठातोलाकी ९६ वर्षीया तुलसीदेवी जोशी अहिले पनि बारीमै भेटिन्छिन्। यो उनको बाध्यता होइन, बाल्यकालदेखिको बानीले नछाडेको मात्र हो। ‘घरभित्रै बसिरहन मन मान्दैन,’ उनले भनिन्, ‘बारीमा के-कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ। त्यसपछि कुटो बोकेर गइहाल्छु।’

थाहा भएदेखि कृषिमा जीवन समर्पित गर्नुभएकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छन्। ‘गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्’, तुलसीले भनिन्।

Navadurga sun

तर, यो उमेर बितिसक्दा पनि उनलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन। उनलाई गएको शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उनको घरमै पुगेर नागरिकता प्रदान गरे।

थलारा गाउँपालिका–७ घोडादाउनामा विक्रम संवत १९८६ साल साउन ११ गते जन्मिएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको जानकारी दिए। जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताए।

बुबा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मिएकी जोशीको १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका-५ का पदमराज जोशीसँग विहे भएको थियो। २०५१ सालमै पदमराजले संसार छोडेपछि उनी एकल भइन्।

सदरमुकाम चैनपुरबाट चार घण्टाको दुरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भूभाग नै तुलसीका लागि संसार भयो। ‘मेरा लागि त यही संसार हो,’ तुलसीले भनिन्, ‘माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन। यही संसार आँखी झ्यालबाट हेरिरहन्छु। त्यो पनि पुरै घुमेको छैन।’ रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...