सरकारले एक रुपैयाँको नयाँ सिक्काको डिजाइनमा नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका अनुसार यो डिजाइन मन्त्रिपरिषद्बाट स्वीकृत भएर नेपाल राष्ट्र बैंकमा पुगिसकेको छ।
यसअघि राष्ट्र बैंकले मुस्ताङको घार गुम्बाको तस्वीर राखिएको डिजाइन स्वीकृतिका लागि पठाएको थियो। तर मन्त्रिपरिषद्ले उक्त प्रस्ताव फिर्ता गर्दै नयाँ डिजाइन तयार गर्न निर्देशन दिएको थियो।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार नयाँ सिक्कामा नेपालको चुच्चे नक्सा हटाइने छैन, तर सिक्काको तौल र आकार भने परिवर्तन गरिनेछ। अहिलेको सिक्का बनाउन एक रुपैयाँभन्दा बढी लागत लाग्ने भएकाले तौल घटाई धातु परिवर्तन गर्ने योजना बनाइएको हो। मिश्रित धातुको सट्टा स्टिल प्रयोग गरिने भएकाले उत्पादन लागत घट्ने र वातावरणमैत्री पनि हुने अपेक्षा गरिएको छ।
साथै, सिक्कामा रहेका ६४ वटा थोप्ला ६४ योगिनीको प्रतीक मानिन्छन्। सिक्कामा राखिने चित्र र चिन्हहरूले नेपालको इतिहास, संस्कृति र राष्ट्रिय पहिचान झल्काउने भएकाले यस्ता परिवर्तनलाई विशेष महत्वका साथ हेरिएको छ।
