धनगढी- कैलालीको लम्कीचुहामा रहेको साविक लम्कीचुहा अस्पतालले आफ्ना जिन्सी सामग्री तथा स्वास्थ्य उपकरणहरू लम्कीचुहा प्रादेशिक अस्पताललाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। आज आयोजित एक कार्यक्रममार्फत साविक अस्पताल व्यवस्थापन समितिले अस्पतालमा रहेका जिन्सी सामग्री तथा उपकरणहरू प्रादेशिक अस्पताललाई बुझबुझारथ गरेको हो।


हस्तान्तरणपत्रमा साविक लम्कीचुहा अस्पतालका तर्फबाट सदस्य–सचिव गंगाराम उपाध्याय र जिन्सी प्रमुख विरेन्द्र चौधरी तथा लम्कीचुहा प्रादेशिक अस्पतालका तर्फबाट जनस्वास्थ्य निरीक्षक लक्ष्मीकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो।

बुझबुझारथ कार्यक्रममा लम्कीचुहा प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर विष्ट, सदस्यहरू शशिरा शाही र धिरेन्द्र थापा उपस्थित हुनुहुन्थ्यो। साथै स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बम, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. भुषण मिश्र, लम्कीचुहा प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. कमलेश प्रसाद यादव, सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार, शाखा अधिकृत जयराज ओझा, अस्पताल व्यवस्थापक जयन्द्र प्रसाद जैसी तथा स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक उत्तमराज उपाध्यायको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
