नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न गेटा अस्पताललाई तत्काल कम्तीमा ३०० शय्याको क्षमतामा स्तरोन्नति गर्न सरकारलाई सुझाव दिएका छन्।
उनले शिक्षण अस्पताल नै विश्वविद्यालयको मुख्य आधार भएकाले अस्पतालको क्षमता विस्तार नगरी एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिने बताएका छन्। साथै, सेती प्रादेशिक अस्पताललाई गेटामा गाभेर स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गरे न्यूनतम लागतमा अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरेका छन्।

पौडेलले डा. गोविन्द केसीको गेटा अस्पताल सञ्चालनसम्बन्धी सत्याग्रहप्रति समर्थन जनाउँदै अस्पताललाई शीघ्र ३०० शय्याको क्षमतामा सञ्चालन गर्नु नै विश्वविद्यालयलाई सुदृढ बनाउने दीर्घकालीन समाधान भएको बताएका छन्।
