विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्‍टि खर्च

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिए ।शववाहन सञ्चालनसँगै सहयोग स्वरूप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि गर्न आर्थिक अभावका कारण कठिनाइ हुने अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन थालेको कुँवरले बताए । परिवारको सदस्य गुमाएको पीडा एकातर्फ छँदैछ कुँवरले भने, ‘त्यसमाथि आर्थिक अभावले झनै पीडा दिने अवस्थामा यो राहत कार्यक्रमले केही सहयोग पुग्नेछ ।’

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

राहत रकम हस्तान्तरण अन्तर्गत शुक्रबार गाउँपालिकाले दुई परिवारलाई १० हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको छ । गाउँपालिकाको वडा नम्बर २ बौनियाका मृतकका छोरा कालु लुहार र वडा नम्बर १ कट्टीपुरका मृतक ६ दिने शिशुका बाबु सुवास नेपालीलाई रकम वितरण गरेको छ ।

पहिलो दिन कालु लुहारलाई गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर र सुवास नेपालीलाई वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतमले घरमै पुगेर रकम हस्तान्तरण गरे । देहावसान सहानुभूति कार्यक्रमअन्तर्गत चाँडै नै शव चिस्यान सेवा सुरु गर्ने अध्यक्ष कुँवरले जानकारी दिए ।

कुँवरका अनुसार यस क्षेत्रका अधिकांश मानिसहरू रोजगारीको सिलसिलामा भारतलगायत तेस्रो मुलुक जाने गर्छन् । घरमा रहेका परिवारका सदस्यको मृत्यु भएमा शव केही दिन राख्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा मृतकको छोराछोरी वा अन्य आफन्त नआउँदासम्मका लागि शव सुरक्षित राख्न चिस्यान सेवाले सहयोग पुग्नेछ ।

 

Loading...