

बाजुरा- बाजुरामा महिनावारी भएका महिलालाई अलग्गै बस्न बाध्य पार्ने छाउप्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान पुनः सुरु गरिएको छ । आइतबार गोरखापत्रमा छाउप्रथा कायमै रहेको समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले सोमबारदेखि यो अभियान अघि बढाएको हो ।


बुढीगङ्गा नगरपालिका–८ स्थित रिठा प्रहरी चौकीले नुवाकोट, सिगाडा भण्डारगाउँ, झारगाउँ, बदेडा, तिमाडा, सेलापाखालगायतका क्षेत्रमा अनुगमन गर्दा २९ वटा छाउगोठ भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीपकुमार गिरीका अनुसार स्थानीयको रोहबरमा ती छाउगोठ भत्काइने तयारी भइरहेको छ । ‘‘अनुगमनमा २९ वटा छाउगोठ फेला परेका छन् । स्थानीय जनप्रतिनिधि र बासिन्दाको उपस्थितिमा छाउगोठ भत्काउने योजना छ । स्थानीयले स्वेच्छिक रूपमा भत्काउने बताएका छन्, तर केही दिनभित्र नभत्काएमा प्रशासनले हस्तक्षेप गर्नेछ,’’ डीएसपी गिरीले बताए ।
२०७५ पुस २५ गते बुढीनन्दा नगरपालिका–९, पाण्डुसैनमा छाउगोठमा आगलागी हुँदा ३५ वर्षीया अम्बा बोहरा र उनका दुई छोराको ज्यान गएको थियो। त्यसपछि छाउप्रथा उन्मूलनका लागि विभिन्न अभियान सञ्चालन गरिएको थियो। यसअघि जिल्लाका नौ वटै स्थानीय तहमा ५११ वटा छाउगोठ भत्काइएका थिए। तर पुनः छाउगोठ निर्माण भइरहेकाले प्रशासनले कडा कदम चाल्ने चेतावनी दिएको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले छाउप्रथा अन्त्य गर्न कडाइका साथ लाग्ने बताए । ‘‘सबै स्थानीय तहसँग समन्वय गरी यस कुप्रथा अन्त्य गर्न काम गरिनेछ । जनचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै कानुनी कारबाहीको समेत व्यवस्था गरिनेछ,’’ उनले भने ।
प्रशासनले छाउगोठ पूर्ण रूपमा अन्त्य गर्न स्थानीय तह, संघसंस्था र नागरिक समाजलाई समेत सक्रिय सहयोग गर्न आह्वान गरेको छ ।





