


अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले माघ २२ गतेदेखि मानव पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएअनुसार, यो खोप कार्यक्रम प्राथमिक रूपमा १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरिएको छ । गोदावरी नगरपालिकाका ६ हजार ६ सय ६४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।


उनका अनुसार कक्षा ६ देखि १० सम्मका ६ हजार छ सय २४ र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ४० किशोरीलाई खोप लगाइने छ । यो तथ्यांक संकलनमा शाखालाई युनिसेफले सहयोग गरेको हो ।
शाखाले खोप लगाउन खोप केन्द्र र जनशक्तिको विभाजन समेत गरेको छ । ६३ वटा विद्यालय र १८ वटा स्वास्थ्यसंस्थासहित ८१ ठाँउमा खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियानलाई सफल पार्न ११७ स्वास्थ्यकर्मी,१०६ जना स्वयंसेविका,१८२ जना स्ययंसेवक खटिने अवस्थीले जानकारी दिए ।
एचपीभी खोपले महिलामा हुने पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्छ । स्वास्थ्यकर्मीहरूको टोलीले गोदावरीका विभिन्न विद्यालय र स्वास्थ्य संस्थामा खोप अभियान सञ्चालन गर्ने योजना बनाएको छ । साथै, खोप लगाउने समय र स्थानका बारेमा अभिभावकलाई जानकारी गराउनका लागि स्थानीय रेडियो, सामाजिक सञ्जाल र विद्यालयहरूको सहयोगमा प्रचार-प्रसार अभियान पनि अघि बढाइएको छ ।

गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले भने, “एचपीभी खोपले क्यान्सरजस्ता घातक रोगको जोखिमलाई न्यून गर्न मद्दत पुर्याउँछ । यसले किशोरीहरूलाई भविष्यमा स्वस्थ जीवन जिउन सक्षम बनाउँछ ।”
यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइन्छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा छ भने स्तन क्यान्सर दोस्रोमा पर्छ ।
खोप अभियानको पूर्वसन्ध्यामा स्वास्थ्य शाखाले आज आयोजना गरेको नगर स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीलाई अभिमुखिकरणमा नगर उप प्रमुख शारदा देवी रोकायाले हरेक क्षेत्रबाट अभियानलाई सफल गर्न आग्रह गरिन् । यो खोप अभियान नेपालका लागि निकै महत्वपूर्ण भएको भन्दै सबै सम्बन्धित निकायले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनले बताइन् ।
खोप कार्यक्रमको तयारीका लागि स्वास्थ्यकर्मी र स्वयम्सेवकहरूको प्रशिक्षण सम्पन्न भएको छ । नगरपालिकाले यो अभियानलाई प्रभावकारी बनाउन समुदायस्तरमा जनचेतना फैलाउन विशेष जोड दिएको छ ।
आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए ।
गोदावरी नगरपालिकाको यो कदमले किशोरीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। खोप अभियानले नगरपालिकाको सार्वजनिक स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र यसबाट बर्सेनि एक हजार ३१३ जना अर्थात् औसतमा प्रत्येक दिन चारजना महिलाको मृत्यु हुने अनुमान गरिएको छ ।





