धनगढी- कञ्चनपुरमा मृत अवस्थामा भेटिएका दम्पती घटनामा संलग्न रहेको आंशकामा तीन जनालाई पक्राउ गरिएको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका–१ बिनबारीका स्थानीय बडायकदम्पती रमेश (रामेश्वर) बडायक र कमला बडायकको धारिलो हतियार प्रहरी गरी हत्या गरिएको विषयमा अनुसन्धान जारी नै रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका डीएसपी हेमबहादुर शाहीले बताएका छन् । उनका अनुसार सो घटनामा संलग्न रहेको आंशकामा तीन जनालाई नियन्त्रणमा लिने काम भएको छ ।


दम्पतीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको उनले बताए । घटनाको विस्तृत अनुसन्धान गर्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि नाम भने खुलाइएको छैन् ।



घटनाको सुक्ष्म अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीबाट दम्पती घटनाको सुक्ष्म अध्ययन गर्न कुकुर सहित प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको हो ।
घटनाको विषमा अध्ययन गर्न धनगढीबाट तालिमप्राप्त कुकुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गरिरहेको छ । शुक्रबार बिहान रामेश्वर बडायक घरको आँगन र कमला घरभित्रै ओछ्यानमै मृत फेला परेका थिए । विहिबार राति उनीहरूको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बिनबारीका ४६ वर्षीया रमेश बडायक र ४३ वर्षीया उनकी श्रीमती कमला बडायकको प्रारम्भिक घटनाको विवरण हेर्दा हत्या नै गरिएको खुल्न आएको छ । बडायक दम्पतीका एक छोरा भारत र अर्का छोरा स्वदेशमै छन् ।