बढ्दो मौसमी रोगका बिरामी, अस्पतालमा वेड अभाव





अत्तरिया, २५ साउन- मौसम परिवर्तन भए सँगै धनगढीको सेती प्रादेशिक अस्पतालमा मौसमी रोगका बिरामी बढ्दै गइरहेका छन् । केही दिन यता बिरामी बढे सँगै अस्पतालमा बेडको अभाव हुन थालेको हो । एक हप्ता यता दैनिक जसो अस्पतालको इमर्जेन्सी वार्डमा सय जना भन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।


अस्पतालमा अहिले दैनिक जसो सय भन्दा बढी बिरामी आउने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । ‘अहिले मौसमी बिरामी बढ्ने समय हो’ उनले भने, ‘यस कारणले पनि अस्पतालमा चाप बढेको हो । हामी सँग इमर्जेन्सी वार्डमा १८ वार्ड क्षमताको वेड मात्रै छ । बिरामीको अवस्था हेरेर अन्य वार्डमा पठाएर व्यवस्थापन गरिरहेका छौँ।’



केही दिन यता बिरामीको चाप बढिरहेकाले आवश्यक बेडको व्यवस्थापन गरी सो समस्यालाई चाडै नै समाधान गर्ने उनले बताए । मौसमी रोगबाट बच्न मुख्यतया खानपिन र सरसफाईमा ध्यान दिन सके सो रोगहरूबाट बच्न सकिने चिकित्सकहरूले बताउँदै आएका छन् ।
सेती प्रादेशिक अस्पतालमा कार्यरत डा. साधना शर्माले यो समयमा रुघा खोकी ,झाडापखाला , स्क्रब टाईफस र डेङ्गुका बिरामी बढी हुने गरेको बताइन् । ‘पहिला कोरोनाका बिरामीले इमर्जेन्सी वार्डमा भरिभराउ थियो,अहिले कोरोनाको केश छैन,’ उनले भनिन्, अस्पतालमा मौसमी बिरामीको चाप बडेको छ। वेडको पनि अभाब भईराखेको छ ।अहिले भुईँमा समेत राखेर हामी बिरामीको उपचार गरिरहेका छौँ।’
अहिले अस्पतालमा जरो,झाडापखाला, डेंगुका बिरामी आउने गरेका छन् । सामान्यतया साबुन पानीले हात धुने,पिउने पानीलाई तताएर खानुपर्ने चिकित्सको सुझाव छ ।



