शिक्षक पेशागत सहयोग सम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु





अत्तरिया, १४ साउन- राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रम (इजीआरपी) अन्तर्गत शिक्षकको पेशागत सहयोग सम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । भर्चुअल माध्यमबाट भइरहेको प्रशिक्षणमा कैलाली र कञ्चनपुरका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख, शाखा अधिकृत, स्थानीय तहका शिक्षा शाखा प्रमुखहरु र इजीआरपीको जिल्ला समन्वय समिति सदस्यहरुको सहभागिता रहेको छ ।


प्रशिक्षणको पहिलो दिन बिहीबार शिक्षक तालिम केन्द्र दीपायलका प्रशिक्षक भीमप्रसाद पनेरुले शिक्षक पेशागत सहयोग व्यवस्थापन कार्यविधिका मुख्य व्यवस्था, स्थानीय तहमा यो कार्यविधि कार्यान्वयनको अवस्थालगायत विषयमा जानकारी गराए ।



त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत मानव स्रोत संशाधन केन्द्रका शाखा निर्देशक गीरमान थापाले शिक्षक पेशागत सहयोग मार्गदर्शन र त्यसमा भएका प्रावधान तथा शिक्षक तालिम केन्द्र दीपायलका प्रशिक्षक निर्मला पनेरुले भाषिक तत्वको विषयमा सहजीकरण गरिन् ।
त्यसअघि उद्घाटनमा प्रशिक्षणबारे जानकारी दिँदै इजीआरपीका क्षेत्रीय व्यवस्थापक रामदास चौधरीले शिक्षकको पेशागत सहयोग र विद्यार्थीको सिकाइ उपलब्धी वृद्धिमा सहयोग पुर्याउनु प्रशिक्षणको उद्देश्य रहेको बताए । शिक्षाको जिम्मेवारी स्थानीय तहमा गएको नयाँ संरचनामा शिक्षकको पेशागत सहयोगका कामलाई अगाडि बढाउन र सिकाइ उपलब्धी बढाउन प्रशिक्षणले सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
प्रशिक्षणको उद्घाटन क्षेत्रीय शिक्षा निर्देशक गणेशबहादुर सिंहको सभापतित्वमा भएको थियो । निर्देशक सिंहले शिक्षकको पेशागत सहयोगमा प्रशिक्षण महत्वपूर्ण हुने र यसले शैक्षिक क्रियाकलाप सुधारमा पनि सहयोग पुग्ने बताए ।
तालिममा सहभागी प्रशिक्षकले विद्यालयको पठनपाठन सुधारका लागि प्रत्येक स्थानीय तहमा गठन हुने विज्ञ समूहलाई तालिम दिने इजीआरपीका जिल्ला संयोजक उषा जोशीले जानकारी दिइन् । प्रशिक्षणको सञ्चालन इजीआरपीका क्षेत्रीय प्राविधिक संयोजक धर्मराज रानाले गरेका थिए । प्रशिक्षण दुई दिनसम्म सञ्चालन हुनेछ ।



