सुदूरपश्चिमाञ्चल साहित्य समाजले २७ स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने

धनगढी- सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले २७ जना श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष साहित्यका विविध क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टाहरूलाई पुरस्कार प्रदान गर्दै आएको साहित्य समाजले यस पटक पनि विभिन्न विधामा २७ जनालाई सम्मान गर्न लागेको हो ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले निकट दिनमै विशेष समारोहबीच उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिने बताए । यस वर्षको १ लाख ११ हजार १ सय ११ राशीको बद्री कृष्णा वाङ्मय पुरस्कार, २०८० बैतडीका प्राध्यापक डा. महादेव अवस्थीलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष पाण्डेयले बताए । यस अघि २०७९ सालको बद्री कृष्णा वाङ्मय पुरस्कार स्रष्टा झमक कुमारी घिमिरेलाई प्रदान गरिएको थियो ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी २०८० को प्रभास राज्यलक्ष्मी कृति पुरस्कार अछामका प्राज्ञ यज्ञराज उपाध्यायलाई प्रदान गरिने छ । उक्त पुरस्कारको राशी पनि १ लाख ११ हजार १ सय ११ रुपैयाँ नै रहेको छ । २०७९ को प्रभास राज्यलक्ष्मी कृति पुरस्कार जनकपुरका प्रा.डा. राजेन्द्र बिमल लाई प्रदान गर्ने निर्णय गरिएको पाण्डेयको भनाइ छ ।

यस वर्ष २५ हजार रुपैयाँको श्रीलोचन साहित्य पुरस्कार २०८० कास्कीका प्राध्यापक माधव वियोगी र २०७९ को श्रीलोचन साहित्य पुरस्कार कञ्चनपुरका रामचन्द्र नेपाललाई दिइने भएको छ । 

साहित्य समाजले स्थापना गरेको २५ हजार राशीको जयराज पन्त लोकसाहित्य पुरस्कार, २०८० बैतडीका हेमबाबु लेखक र २०७९ को पुरस्कार पिथौरागढ, भारतका डा. पिताम्बर अवस्थीलाई दिने निर्णय गरिएको अध्यक्ष पाण्डेयले बताए । 

Dadeldhura hospital

त्यसैगरी २५ हजार राशीकै सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार, २०८० कञ्चनपुरका पदम राना र २०७९ को पुरस्कार कैलालीका डम्बर चौधरीलाई प्रदान गरिने उनले जानकारी दिए । २५ हजार राशीको गणेश स्मृति हेमन्ती पुरस्कार २०८० बैतडीका कर्ण दयाल र २०७९ को पुरस्कार चितवनका गणेश श्रमणलाई प्रदान गरिने अध्यक्ष पाण्डेय बताउँछन् ।

त्यसैगरी २५ हजार राशीको बिष्णुदास यज्ञ साहित्य पुरस्कार २०८० बाँकेको नेपालगन्जका किरण आचार्य र २०७९ को पुरस्कार डोटीका टीआर पाठकलाई दिइने छ । २५ हजार राशीको जसुदा संगीत पुरस्कार २०८० बाजुराका शोभा थापा र २०७९ डोटीका गोपाल सुचिकारलाई दिने निर्णय गरिएको पाण्डेयले जानकारी दिए । २५ हजार राशीकै जसुदा शिक्षा पुरस्कार २०८० कैलालीका कुलासिंह बम र २०७९ को पुरस्कार डडेल्धुराका जयराज पन्तलाई प्रदान गरिने छ ।

२५ हजार राशीको जसुदा समाज सेवा पुरस्कार २०८० इटहरिका सुभद्रा प्याकुरेल र २०७९ को पुरस्कार कैलालीका दीपक उपाध्यायलाई प्रदान गर्ने निर्णय गरिएको उनले जानकारी दिए । 

साहित्य समाजका महासचिव गणेश नेपालीका अनुसार २५ हजार राशीको जसुदा साहित्य पुरस्कार २०८० बाँकेको नेपालगन्जका अञ्जु न्यौपाने र २०७९ को पुरस्कार बाजुराका खगेन्द्र गिरी कोपिलालाई प्रदान गरिने छ ।

२५ हजार राशीको सावित्री साहु स्मृति पुरस्कार २०८० भारतको उत्तराखण्डका, उप्रेती सिस्टर, ज्योति र निरजा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए। त्यसैगरी ११ हजार रुपैयाँ राशीको हरुदेवी स्मृति स्रष्टा सम्मान २०८० डोटीका पत्रकार मुकुन्द भण्डारी र २०७९ को सोही पुरस्कार पाल्पाका बिनु गौतमलाई प्रदान गर्ने निर्णय गरिएको महासचिव नेपालीको भनाइ छ।

त्यसैगरी ११ हजार रुपैयाँ राशीको प्रतिभाश्री सम्मान पुरस्कार २०८० बझाङका पूर्णबहादुर मल्ल र २०७९ को सम्मान साहित्यकार बाजुराका जयलक्ष्मी जोशीलाई प्रदान गर्ने निर्णय गरिएको महासचिव नेपालीले बताए । साहित्य समाजले विभिन्न साहित्यिक गतिविधि गर्नुका साथै साहित्यका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका व्यक्तिहरूलाई प्रत्येक वर्ष  सम्मान गर्दै आएको छ । 

Loading...