सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलद्वारा २४ सै घण्टा पैदल गस्ती

कैलाली– भारतसँग सीमा जोडिएको कैलाली जिल्लाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले एक हप्ताका लागि २४ सै घण्टा पैदल गस्ती सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीका प्रहरी निरीक्षक पुष्करबहादुर बमको नेतृत्वमा रहेको ३५ जनाको सशस्त्र प्रहरीको टोलीले शनिबारदेखि पैदल गस्ती सुरु गरेको हो । जिल्लाको पश्चिमी त्रिनगर सीमा नाकाबाट सुरु गरिएको पैदल सीमा गस्ती जिल्लाको पूर्व क्षेत्रको श्रीलङ्का टापूको सीमासम्म पुगेर यही वैशाख १४ गतेसम्म पूरा हुने जनाइएको छ ।

Dadeldhura hospital

कार्यालयका प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले गस्ती टोलीले सीमामा हुने सबै खालका आपराधिक एवं अवाञ्छित गतिविधि रोकथामको पहल गर्ने, मिचिएको सीमा र सीमा स्तम्भको वस्तुस्थिति अध्ययन गर्ने लगायत काम गर्ने जानकारी दिए । “टोलीले सीमा क्षेत्रका वडाका जनप्रतिनिधि र स्थानीय नागरिकसँग पनि सीमाका समस्यालगायत विषयमा छलफल गरेर समस्या समाधानको पहिचान गर्नेछ”, पाण्डेले भने, “आवश्यकताअनुसार सीमापारीको भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग पनि समन्वय गरेर संयुक्त सीमा गस्ती गर्न सक्नेछ ।”

godawari10 Mahila hinsa
Navadurga sun

यस क्रममा गस्ती टोलीले सीमामा बस्ने नागरिकलाई भूकम्प, बाढी, डुबान, नदी कटान आगलागी जस्ता विपत् व्यवस्थापनका घटना न्यूनीकरण गर्न अपनाउन सकिने उपायका बारेमा पनि चेतनामूलक कार्यक्रम गर्ने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सीमा सुरक्षा विभागको सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणा पत्र २०८० बमोजिम कैलालीमा सीमामा पैदल गस्ती सुरु गरिएको जनाइएको छ । कैलालीको पश्चिम त्रिनगरदेखि पूर्वी क्षेत्र श्रीलङ्का टापू सम्मको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्र एक सय एक किमी दूरीको छ । सशस्त्र प्रहरीले यस बाहेक आवश्यकताअनुसार सीमा क्षेत्रमा नियमित गस्ती पनि गर्दै आएको छ ।

सीमापारि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले प्रत्येक पाँच किलोमिटरको दूरीमा आफ्ना सीमा सुरक्षा पोष्ट स्थापना गरेको छ । नेपालतर्फका सीमा क्षेत्रमा भने आवश्यक स्रोतसाधन र जनशक्तिको अभाव जस्ता समस्याका कारण सशस्त्र प्रहरी बलका एसएसबीले स्थापना गरेका सीमा सुरक्षा कार्यालयको सङ्ख्याको तुलनामा कम सीमा सुरक्षा कार्यालय सञ्चालनमा छन् । रासस

Loading...