डडेल्धुरा- नेकपा (एमाले) डडेल्धुराको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । परशुराममा मंगलबार साँझ सम्पन्न भएको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चुनिएको हो। जिल्ला अध्यक्षमा गजेन्द्र शाही चयन भएका छन् ।



जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा सिद्धराज भट्ट, उपसचिव (महिला) मा इन्द्रिरा ताम्राकार, उपसचिव (खुल्ला)मा प्रकाश सिंह बोहरा निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए । उनका अनुसार लेखा समिति अध्यक्षमा तुलाराम पनेरु र सचिवमा लोकेन्द्र ओझा चयन भएका छन् ।


शाही गन्यापधुरा गाउँपालिका-३ सकायलका हुन् । शाहीले २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका हुन् । उनी त्यस पछि जिल्ला सचिव हुँदै ०५९ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र ०६३ मा जिल्ला अध्यक्ष बनेका थिए ।
युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उनले सोही समयमा सुदूरपश्चिम प्रदेश र लुम्बेनी प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्मालेका थिए । उनी ०६५ मा एमाले डडेल्धुराको जिल्ला कमिटी सदस्य भएका थिए । संक्रमण कालिन अवस्थामा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्मालेका शाही जिल्ला संयोजकको रूपमा रहेका थिए ।