कञ्चनपुरको कृष्णपुरले आफ्नै स्रोतमा ४५ किमी सडक स्तरोन्नति गर्दै

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नौ वटै वडाका सडक स्तरोन्नतिको काम थालेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निणर्य अनुसार प्रत्येक वडामा पाँच-पाँच किलोमिटर गरी ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने निणर्य अनुसार कार्य अगाडि बढाएको हो ।

Dadeldhura hospital

नगरपालिकाकै साधन स्रोतको प्रयोग गरी ‘ग्राभेल’ गर्ने र कालोपत्र गर्ने काम अगाडि बढाइएको नगर प्रमुख हेमराज ओझाले बताए । ‘वडा नम्बर ९ को पाग्रेचोकबाट सडक स्तरोन्नतिको कार्य अगाडि बढाएका छौँ,’ उनले भने, ‘थोरै खर्चमा सडक स्तरोन्नतिको काम गरिरहेका छौँ ।’ उनका अनुसार वडाको छनौटमा परेका सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ ।

Navadurga sun
Godawari sandesh

‘पाँच किलोमिटर सडक स्तरोन्नति गर्दा प्राविधिकको अनुमानित लागत अनुसार १० लाख रुपैयाँ भन्दा बढी लाग्छ,’ नगर प्रमुख ओझाले भने, ‘नगरपालिकाकै लोडर, रोलर, टिपर प्रयोग गरी न्यून खर्च मै सडक स्तरोन्नतिको कार्य अगाडि बढाएका छौँ ।’ यसरी सडक स्तरोन्नति गर्दा नदीजन्य पदार्थको सलामी दस्तुर तिर्ने, चालकलाई खाना, खाजा भत्ता बापतको रकम उपलब्ध गराउने र ढुवानीका साधनमा इन्धनको व्यवस्था गरिने उनले जानकारी दिए ।

ठेक्का र उपभोक्ता समिति मार्फत हुने कार्य भन्दा कम लागतमा सडक स्तरोन्नतिको कार्य गरी नगरबासीको सुविधाका लागि सडक निर्माण हुने भएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताए । उनले नगरपालिकाका नौ वटै वडामा हुने सडक स्तरोन्नतिको कार्यले सर्वसाधारणको आवागमनमा सुविधा पुग्ने बताए । रासस

Loading...