धनगढी- सुदूरपश्चिम प्रदेशमा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि ९ जना विद्यार्थी छनौट भएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि पौष ५ गते प्रकाशित सूचना अनुसार आवेदन पेश गर्ने आवेदक मध्ये खुला तर्फ ५ र समावेशी तर्फ ४ जना गरी ९ जना छनौट भएका छन् । एमबीबीएस अध्ययन छात्रवृत्तिमा खुला तर्फ ५ जना छनौट भएका छन् ।


बाजुरा जिल्लाको स्वामिकार्तिक खापर-४ का नितेश कुमार धामी, बझाङको जयपृथ्वी-३ का अविशेक जोशी, शुर्मा गाउँपालिका-२ कि नविना बोहरा, सायल-२ डोटीका दिप उपाध्याय र भागेश्वर-५ डडेल्धुराका भीम बहादुर बोहरा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि मन्त्रालयबाट छनौट भएका हुन् ।



त्यस्तै महिला तर्फ शुक्लाफाँटा नगरपालिका-३ कञ्चनपुर कि रेखा जोशी एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि छनौट भएकी छन् । दलित तर्फ गौरीगंगा नगरपालिका-६ कैलालीका रावल नेपाली छनौट भएका छन् । एमबीबीएस छात्रवृत्तिमा आर्थिक रुपले विपन्न खसआर्य तर्फ स्वामिकार्तिक खापर-५ बाजुराका अविशेक महतरा छनौटमा परेका छन् । थारु राना थारु तर्फबाट गौरीगंगा नगरपालिका-६ कैलालीकी वर्षा चौधरी एमबीबीएस छात्रवृत्ति अध्ययनका लागि छनौटमा परेकी छन् ।
सामाजिक विकास मन्त्रालयका उच्च शिक्षा महाशाखाका शाखा अधिकृत गोपालदत्त जोशीले मन्त्रालयको एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७४, चौथो संशोधनले तत्काल रकम दिने व्यवस्था नगरेको बताए । यसपाली नाम निस्केर पढाइ सुरु गरेकालाई आगामी वर्षदेखि रकम उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए ।
गत वर्षसम्म मन्त्रालयले सम्बन्धित कलेजसँग सम्झौता गरेर रकम उपलब्ध गराउने गरेको थियो । यस वर्ष देखि सम्बन्धित विद्यार्थीलाई नै रकम उपलब्ध गराउने विषयमा छलफल चलेको बुझिएको छ । प्रदेश सरकारले हरेक वर्ष ९ जनालाई एमबीबीएस छात्रवृत्ति दिने गरेको छ ।





