

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा रहेको गोदावरी धाममा आज (आइतबार) देखि बाह्रराशी दर्शन मकर मेला सुरु भएको छ। मकर संक्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रशिद्ध धार्मिकस्थल गोदावरी धाममा १२ दिन सम्म चल्ने उक्त मेलाको सुदूरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरेका हुन । प्रमुख अतिथि देव राज जोशीले गोदावरी धामलाइ ब्यबस्थित पार्न हर प्रयत्न र बुद्धिले भ्याएसम्म पहल गर्ने बताए ।





गोदावरीमा बाह्र राषी मकर मेलाको आइतबार उदघाटन कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले गोदावरी धाम क्षेत्रको बिकासको लागी ४० करोडको डिपिआर तयार भएको बताएका छन ।
‘४० करोडको डिपिआर बनेको छ, माथि पुल देखी तल आर्यघाट सम्म तर त्यो स्थानिय सरकारले मात्रै खर्च ब्यहोर्न सक्दैन ।’ उनले भने, ‘यसलाई ठुलो धार्मिक पर्यटकिय क्षेत्र बनाउने हो भने प्रदेश केन्द्र सरकारको पनि सहयोग आबश्यक रहने ।’ उनले गोदावरीमा धेरै समिती पनि आबश्यक नरहेको बताए । उनले भने, ‘अब सबै समितीलाई मिलाएर बृहत गोदावरी धाम बिकास गठन गर्नुपर्ने छ। यँहा समिति धेरै भए, अब मुल समिति बनाउनु पर्यो । अरु समितिलाई उपसमिति बनाउन सकिने छ ।’
नगर प्रमुख भट्टले यो बर्ष आएको बाढिले यँहा ठुलो क्षती भएको तर पनि यसको ब्यबस्थापनमा नगरपालिकाले सक्ने जती सहयोग गरेको बताए । श्रावण २२ गते आएको बाढिले यँहा को स्थिती के थियो सबै लाई थाहा नै छ । साच्चै हामी डराएको थियौँ, सोच्न सकिने अबस्था थिएन । स्थानीय तहले मात्रै नियन्त्रण गर्न सकिने अवस्था थिएन । तर पनि हामी आजको दिन सम्म आएका छौं,’ उनले भने । गोदावरी धाम यस क्षेत्रका सबै पालिकाहरुको सरोकारको बिषय हुनुपर्ने उनको भनाई रहेको छ । उनले गोदावरी आसपासका ६ वटा नगरपालिका संग समन्वय गरेर यसको बिकास गर्न सकिने बताए ।


प्रत्येक वर्ष कुनै एक राशीमा कुम्भमेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतिकको रुपमा बाह्र राशी दर्शन मकर मेला आयोजना गरीएको धाम बिकास समितिका अध्यक्ष पदमराज जोशीले बताए ।
यसका लागी धाममा बाह्रराशीको स्थापना गरी प्रत्येक राशीका व्यक्तिहरुलाई दर्शन तथा यहाँ स्थापना गरिएको कुम्भबाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाइ दर्शन एवं पूजाको व्यवस्था गरिएको उनले जानकारी दिए ।
मकर मेला भर्न सुदूरपश्चिम लगायत सिमावर्ती भारतका विभिन्न ठाउवाट आइतबार विहानै देखि गोदावरीमा भक्तजन आउने क्रम जारी छ । गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला गर्ने लक्ष्य अनुरुप महाकुम्भ पछि मकर मेला आयोजना गरीएको आयोजकले जनाएको छ ।

उदघाटन कार्यक्रममा प्रदेशका सांसदहरु प्रकाश बम, तुलसी देबकोटा, खिमादेबी बिष्टको सहभागीता रहेको थियो । यस्तै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, गौरीगंगा नगरपालिकाका नगरउपप्रमुख भोज बहादुर बम, स्वामी १००८ देबराज जि, पुर्बमन्त्री टेक बहादुर रैका लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा गोदावरी धामका बरिष्ठ उपाध्यक्ष मदन राज पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन गोदावरी धामका सचिव हरिलाल गिरीले गरेका थिए ।