

धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले लागूऔषध दुर्व्यसनी राख्न स्थापना भएको आसरा सुधार केन्द्र सञ्चालनमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् ।


धनगढी उपमहानगरपालिका–१४ मा प्रदेश प्रहरी कार्यालय र धनगढी उपमहानगरपालिकाको कार्यालयले स्थापना गरेको सुधार केन्द्रको आज अनुगमन गर्नु हुँदै उनले सहयोगको प्रतिबद्धता जनाएका हुन् ।



छिट्टै सञ्चालनमा आउने सुधार केन्द्रलाई आफ्नो मन्त्रालय, सामाजिक विकास मन्त्रालय र अन्य मन्त्रालयबाट सहयोगका लागि छलफल चलाइएको उनको भनाइ छ । “भौतिकदेखि अन्य कुरामा सहयोगका लागि छलफल चलाएका छौँ” मन्त्री देउवाले भने।
लागूऔषध दुर्व्यसनीहरुको उपचार गर्ने र उनीहरूलाई समाजको सिजनशील नागरिक बनाउने उद्देश्यसाथ ज्येष्ठ नागरिकको भवनमा आसरा सुधार केन्द्र स्थापना गरिएको छ । सुधार केन्द्रमा दुईसय जनालाई राख्न सकिने सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए ।
उनले यो महिनाको अन्तिमबाट सुधार केन्द्र सञ्चालनमा आउने भन्दै थपे, “यो केन्द्र सञ्चालन भएमा यसले दुर्व्यसनमा फँसेकाहरुलाई नयाँ जीवन दिन सक्छ ।”





