धनगढी- कैलालीको मोहन्याल गाउँपालिकाले भूकम्प पीडितलाई साढे १३ लाख रुपैयाँ सहयोग दिने भएको छ । जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको घटना प्रति दुःख व्यक्त गर्दै सो गाउँपालिकाले राहत स्वरुप साढे १३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।




गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको मासिक तलब सुविधाबाट सहयोग गर्ने भएको हो ।


जनप्रतिनिधिले आफ्नो १० दिनको, अधिकृत स्तरको कर्मचारीले ५ दिनको र सहायक तथा सहयोगी कर्मचारीले आफ्नो ३ दिन बराबरको र माध्यमिक तहका शिक्षकहरुले ५ दिनको र अन्य तहको शिक्षकहरुले ३ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितहरुलाई दिने भएका हुन् ।

