एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन आजबाट सुरु हुँदै

Dadeldhura hospital

धनगढी- नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ। उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली आज धनगढी आउँदैछन् । ओली बिहान पौने ९ बजे धनगढी आउने जनाइएको छ। धनगढीको सौँराइ पार्टी प्यालेसमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

अध्यक्ष पदमा अहिलेसम्म कमल तिमिल्सेना, कृष्णप्रसाद जैसी र बच्चनबहादुर सिंहको नाम चर्चामा छ। सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गरिने, सहमतिमा पुग्न नसके निर्वाचनबाट टुङ्गो लगाउने एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनाए।

अधिवेशनमा प्रदेशका ९ जिल्लाका ६ सय ७५ प्रतिनिधि सहभागी हुनेछन्। अधिवेशनले पदाधिकारीसहित १ सय ५५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ। उद्घाटनपछि हुने बन्द सत्रमा राजनीतिक तथा सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ।

एमालेका सात भौगोलिक र एक गैह्र भौगोलिक प्रदेश कमिटी मध्ये छ वटाको अधिवेशन भइसकेको छ। जसमा सबभन्दा पहिला लुम्बिनी प्रदेशको अधिवेशन भदौको १६ र १७ गते भएको थियो। त्यसपछि भौगोलिकतर्फ बागमती, कर्णाली,कोशी र गण्डकी प्रदेशका अधिवेशन सम्पन्न भइसकेका छन्।

गैह्र भौगौलिकतर्फ उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन पनि सम्पन्न भइसकेको छ। अब सुदूरपश्चिम र मधेस प्रदेशको अधिवेशन हुन बाँकी छ।

 

Loading...