सरकारी अस्पतालका भेन्टिलेटर: पहाडमा प्रयोगविहीन, तराईमा अभाव

डोटी- जिल्ला अस्पताल अछाममा दुईवटा भेन्टिलेटरका उपकरण छन् । तर, प्रयोगमा छैन । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका बेला सुदूरपश्चिम प्रदेश सरकारले २०७७ साल मंसिरमा उपलव्ध गराएका भेन्टिलेटर हालसम्म प्रयोगमा नआएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। भुवन बिसी बताउँछन् ।

उनी भन्छन्, ‘भेन्टिलेटर सञ्चालन गर्न हामीहरुसँग न स्पेस छ न त जनशक्ति ।’ उनले गम्भीर बिरामीहरुलाई धनगढी रिफर गर्ने गरेको सुनाए ।कोभिडकै समयमा डोटी जिल्ला अस्पतालमा आएका दुइटा भेन्टिलेटर पनि सञ्चालनमा नरहेको अस्पतालका मेसु डा. निराजन श्रेष्ठले बताए ।

Navadurga sun
Godawari sandesh

‘भेन्टिलेटर सञ्चालन गर्न कम्तीमा एकएक जना एमडी एनएसथेसिया र इन्टरनल मेडिसनबाट एमडी चाहिन्छ’, डा. श्रेष्ठले भने, ‘तालिम प्राप्त मेडिकल अधिकृतहरु, नर्सिङ स्टाफहरु र पारामेडिसियनहरु चाहिन्छ ।’

उनले उक्त जनशक्ति आफूहरुसँग नभएको वताए । ‘आईसीयू र भेन्टिलेटर नियमित सञ्चालन गर्न बजेट पनि चाहिन्छ, जुन अस्पतालसँग छैन’, डा. श्रेष्ठले भने, ‘अस्पतालसँग अहिले भएको जनशक्तिले भेन्टिलेटर चलाउन सकिँदैन ।’ उनका अनुसार अछामले जस्तै डोटीले पनिा गम्भीर बिरामीहरुलाई धनगढी रिफर गर्ने गरेको छ । बझाङको अवस्थामा पनि उस्तै छ ।

‘म आएको थोरै समय भएको छ, भेन्टिलेटर कहिले आएको हो भन्नेसम्म मलाई थाह भएन’, जिल्ला अस्पताल बझाङका मेसु डा। नवराज जोशी भन्छन्, ‘तर चालू अवस्थामा छैन ।’

दक्ष जनशक्ति नभएका कारण अस्पतालमा भएको दुइटै भेन्टिलेटर सञ्चालनमा नआएको उनको भनाइ छ । बाजुरा, दार्चुला र बैतडीका जिल्ला अस्पतालमा पनि दुईदुई वटा भेन्टिलेटर रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा छ ।

तर, प्रयोगमा भने कतै छैन । संघीय सरकर मातहत रहेको सुदूरपश्चिमको एकमात्र अस्पताल डडेल्धुरामा पाँच वटा भेन्टिलेटर रहेको निर्देशनालयका सूचना अधिकारी डीएन गिरीले जानकारी दिए ।

Dadeldhura hospital

डडेल्धुरा अस्पतालका मेसु सन्तोष गुप्ताले पाँचमध्ये एक वटामात्रै हाल प्रयोगमा रहेको बताए । उनी भन्छन् ‘अरु उपकरण बिग्रेका छन्, मर्मत गर्नुपर्नेछ ।’

जनशक्ति अभावका कारण भेन्टिलेटर चलाउन समस्या भएको उनको भनाइ छ । ‘उपकरणमात्रै भएर भएन, जनशक्ति पनि हुनुपर्‍यो’, उनले भने । एकातिर पहाडी जिल्लाहरुमा उपकरणहरु प्रयोगविहीन भएका छन् भने अर्कोतिर तराईका जिल्लामा अभाव देखिएको छ । महाकाली अस्पतालमा चार वटा भेन्टिलेटर छ । चार वटै प्रयोगमा रहेको अस्पतालका मेसु डा। अर्जुन भट्ट बताउँछन् ।

‘हालसम्म चार वटा भेन्टिलेटरले धानेको छ’, उनी भन्छन्, ‘अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । भेन्टिलेटरमै राख्नुपर्ने बिरामीको संख्या त्यति धेरै छैन, अहिलेलाई पुगेको छ ।’ सेती प्रादेशिक अस्पताल धनगढीमा भने भेन्टिलेटरको अभाव रहेको अस्पतालका स्टोरकिपर जगत सिंह बताउँछन् ।

‘हामीसँग २१ वटा भेन्टिलेटर छन्, त्यसमध्ये चारवटा बिग्रेको छ, बाँकी सञ्चालनमै छन्’, उनले भने, ‘बिग्रेका उपकरणहरु प्रदेश आपूर्ति केन्द्रले मर्मत गरिदिने भनेको छ । तर, अहिलेसम्म भएको छैन ।’

अस्पतालमा सबै जिल्लाबाट रिफर भएर चाप बढेको सिंहले बताए । ‘कहिलेकाहीं धेरै बिरामीहरु आउँछन्, उनीहरुलाई भर्ना गर्ने ठाउँ नै हुँदैन’, उनी भन्छन्, ‘त्यसपछि अन्यत्र लैजान भन्नुपर्ने अवस्था हुन्छ ।’

पहाडका सबै जिल्लामा भेन्टिलेटर चलाउन सम्भव नभएको बताउँछन् एक स्वास्थ्यकर्मी । ‘यो मूर्खता हो, भेन्टिलेटर वा आईसीयू चलाउने भनेको सामान्य विषय होइन्’, ती स्वास्थ्यकर्मी भन्छन्, ‘जनशक्ति, आवश्यक औषधि, उपकरण पुर्‍याउनै मुस्किल हुन्छ ।’

बरु सबै उपकरणहरु एक ठाउँमा ल्याएर सञ्चालन गर्न सकिने उनको सुझाव छ । उनले भने, ‘वर्षौंदेखि उपकरण थन्क्याउनुको कुनै अर्थ छैन । बरु सेती र महाकाली अस्पताललाई हस्तान्तरण गर्दा हुन्छ ।’

सरकारले सस्तो लोकप्रियताका लागि राहत बाँडे जस्तै स्वास्थ्य उपकरण वितरण गरेको उनको आरोप छ । यसले आवश्यक ठाउँमा अभाव देखिने र अनावश्यक ठाउँमा थन्किने अवस्था सिर्जना भएको उनले बताए ।

Loading...