कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्वारा व्यवसायीक कृषकलाई अनुदान वितरण




अत्तरिया, २ असार- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले व्यवसायीक रुपमा पशुपालन गरिरहेका किसानहरुलाई अनुदान वितरण गरेको छ ।


नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरभित्र व्यवसायीक रुपमा पशुपालन गरिरहेका २१ जना किसानहरुलाई अनुदान वितरण गरेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख मानबहादुर केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको आयोजित प्रमुख अतिथि नगरप्रमुख कणर् बहादुर हमाल रहेका थिए ।


कार्यक्रममा बोल्दै नगरप्रमुख हमालले व्यवसायीक रुपमा पशुपालन गर्ने किसानहरुलाई नगरपालिकाले सदैव सहयोग गर्ने बताए । ‘हामी अहिले पनि परम्परागत पशु एवम् कृषि प्रणालीमा छौ’ उनले भने ‘समयानुसार अव हामीले व्यवसायीक रुपमा कृषि कार्य गर्नुपर्दछ, जसले हामीलाई आत्मनिर्भर हुन मद्दत गर्दछ ।’
परम्परागत कार्यप्रणालीका कारण अहिले किसानहरुले कृषिमा लगानी बढी र प्रतिफल कम पाईरहेको उनले बताए । नगरपालिकाले कृषि पेशालाई मर्यादित र सम्मानित पेसाको रुपमा विकास गर्न विभिन्न योजनाहरु ल्याएको उनले बताए।नगरलाई कृषिमा आत्मनिर्भर बनाउन किसानहरुलाई अभिप्रेरित गर्न आवश्यक रहेको बताउदै उनले त्यसका लागी नगरपालिकाले विभिन्न शिर्षकमा अनुदान दिएको बताए ।

आफुले सञ्चालन गर्दै आएको व्यवसायमा स्थानिय सरकारले अनुदान दिएपछि किसानहरु पनि खुसी भएका छन । श्री लाटा गन्याप कृषि तथा पशुपालन अर्गानिक नमुना फर्मका सञ्चालक गणेश बहादुर रावलले स्थानिय तहले आफ्नो कामका लागी दिएको अनुदानले आफु हर्षित भएको बताए ।
आफुले फर्म सञ्चालन गरेदेखी पहिलो पटक अनुदान पाएको बताउदै उनले स्थानिय तहले जस्तै प्रदेश र केन्द्र सरकारले पनि वास्तविक किसान छनौट गरी अनुदान दिनुपर्ने बताए । प्राप्त अनुदानले अझै सशक्त रुपमा कृषि कर्ममा लाग्ने अभिप्रेरित गरेको उनको भनाई छ ।
त्यसैगरी तारा भैसी फर्मकी सञ्चालक तारा देवी भट्टले नगरपालिकाले दिएको अनुदानप्रति खुसी व्यक्त गरिन । भट्टले किसानहरुलाई कृषि कर्ममा सहजता प्रदान होस भन्ने हेतुले प्रदान अनुदान दिएको भन्दै नगरपालिकालाई धन्यवाद ज्ञापन समेत व्यक्त गरेकी छिन् ।
नगरपालिकाले ५ विधामा कार्यरत किसानलाई अनुदान वितरण गरेको थियो । वितरण गरिएको अनुदान अन्तरगत नमुना गाई/भैसी फर्म विधामा ५० प्रतिशतमा २ जना कृषकले, साईलो पिट निर्माण विधामा ५० प्रतिशतमा २ जना किसानले र स्थानिय जातका कुखुरा प्रर्वद्धन कार्यक्रममा ५० प्रतिशतमा ३ जना किसानले अनुदान पाएका थिए ।
यसैगरी ८ जना किसानले विद्युतिय च्यापकटरका लागी अनुदान पाएका थिए भने ६ जना किसानले मिल्क क्यान पाएका थिए । नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक निति तथा कार्यक्रम अनुसार किसानहरुलाई उक्त अनुदान वितरण गरिएको थियो । अनुदान वितरण कार्यक्रमको सञ्चालन नगरपालिकाको पशु शाखाका कर्मचारी गोपाल सिँह बोहराले गरेका थिए ।



