स्वास्थ्य शिविरमा ४०१ जनाको स्वास्थ्य जाँच

टीकापुर- टीकापुर नगरपालिका –१ शक्तिनगर मुक्त कमैया शिविरमा भएको स्वास्थ्य शिविरमा ४०१ जनाको स्वास्थ्य परीक्षण भएको छ । नेपाल प्रहरी श्रीमति संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा र सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको प्राविधिक सहयोगमा बुधबार भएको निःशुल्क स्वास्थ्य शिविरमा २६४ जना महिला र १३७ जना पुरुषले सेवा लिएका हुन् ।

प्रहरी नायवउपरीक्षक डा.सविता सिंहको नेतृत्वमा ११ जना चिकित्सक र स्वास्थ्यकर्मीका टोलीले स्वास्थ्य सेवा प्रदान गरेको छ । स्वास्थ्य जाँच गर्न आएका मानिसहरुमा ढाड दुख्ने, छालासम्बन्धी समस्या र ग्याष्ट्रिकको समस्या बढी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मुक्त कमैया शिविरका नागरिकमा स्वास्थ्य समस्या हुनसक्ने भएकाले समस्या समाधानमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नेपाल प्रहरी श्रीमति संघ सुदूरपश्चिमका अध्यक्ष एकता बोहराले जानकारी दिए ।

टाउको दुख्ने, रिङ्गटा लाग्ने समस्या भए पनि गर्मीका बेला अस्पताल जान जाँगर नलागेर घरै बसेकी राजकुमारी चौधरीले शिविरमा आएर रक्तचाप कम भएको थाहा भएको र औषधि पनि प्राप्त गरेको बताए ।

यस्तै ६० वर्षीय कर्णबहादुर रोकायाले आफ्नो स्वर नआउने, कम्मर दुख्ने समस्या भएकाले शिविरमा आएको र शिविरमा सुगरको जाँच गर्दा सुगर पनि देखिएको बताए । रोकायाले बच्चाको कान पाकेको उपचार पनि भएको बताए । बस्तीका पूर्व बडघर रामलाल डंगौराले अस्पतालमा जान नसक्ने र जान मन नगर्नेका लागि मुक्त कमैंया शिविरमा स्वास्थ्य शिविर सञ्चालन हुँदा खुशी लागेको बताए ।

Loading...