कैलालीको गेटामा रहेको सुकुम्बासी बस्तीका ३७ परिवारलाई खाद्यान्न वितरण




अत्तरिया, २९ जेठ- कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ मा गेटामा रहेको सुकुम्बासी बस्तीमा खाद्यान्न वितरण गरिएको छ । जिल्ला समन्वय समितिका सदस्य टेक बुढाले आफ्ना छोरा गौरङ्ग बुढाको पहिलो जन्मोत्सवको अवसरमा बस्तीका ३७ परिवारलाई खाद्यान्न वितरण गरेका हुन ।


खाद्यान्न वितरण अन्तरगत उनले प्रत्येक परिवारलाई ११ किलोग्राम चामल, १ किलोग्राम दाल, १ पोका तेल, १ किलोग्राम नुन, लुगा धुने र नुहाउने साबुन १/१ वटा वितरण गरेका थिए । खाद्यान्न वितरण गर्दै बुढाले छोराको जन्मोत्सव फजुल खर्च गरेर मनाउनु भन्दा लकडाउनमा समस्या परेका परिवारलाई राहत पुगोस् भनेर खाद्यान्न वितरण गरेको बताए ।



वडा नम्बर ५ कै वडा सदस्यमा विजयी भएर जिल्ला समन्वय समितिमा निर्वाचित भएका बुढाले आफूले चुनाव जितेको ठाउँका विपन्न परिवारलाई लकडाउनमा थोरै भएपनि राहत पुगोस् भनेर खाद्यान्न वितरणका लागि सुकुम्बासी बस्ती रोजेको बताए ।
राहत वितरणमा सहभागि वडा नम्बर ५ का वडा अध्यक्ष कणर् सिह बोहराले आर्थिक अवस्था कमजोर भएको बस्तीमा राहत वितरण गरेकोमा बुढालाई धन्यवाद ज्ञापन समेत व्यक्त गरे । वडा अध्यक्ष बोहराले यस पटकको महामारीमा वडा स्तरबाट राहत वितरण गर्न नसकिएको भएपनि व्यक्तिगत रुपमा भएपनि बुढाले राहत वितरण गर्नु सराहनीय काम भएको बताए ।
राहत पाएपछि खुसी व्यक्त गर्दै सुकुम्बासी बस्तीका पारश चौधरीले थोरै भएपनि खाद्यान्न पाउँदा लकडाउनमा जीविका चलाउन सहज हुने बताए । चौधरीले भने गत वर्ष लकडाउनमा राहत दिइएको भएपनि यस वर्ष भने डेढ महिना लकडाउन हुँदा आज पहिलो चोटि राहत पाएको बताए ।
स्थानीय नम्रता चौधरीले लकडाउन पछि पहिलो पटक राहत पाउँदा निकै खुसी लागेको बताउँछिन् । उनले आफू जस्ता दैनिक ज्याला मजदुरी गरेर खाने वर्गका लागि राहत वितरण गरिनुपर्ने बताइन् ।



