कञ्चनपुर- कञ्चनपुरका विभिन्न पालिकामा लामो समयदेखि अवैधरुपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।


दोधारा चाँदनी नगरपालिकामा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ तथा भीमदत्त नगरपालिका–९ ब्रह्मदेव र भीमदत्त–१३ साझा चौराहामा सञ्चालन गर्दै आएका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको हो ।


पक्राउ पर्नेमा भारतको उधमसिंहनगर खटिमाका २६ वर्षीय सञ्जय विश्वास, भारतको पिलिभित नौजलियाका ४६ वर्षीय राजेश विश्वास, पिलिभित महाराजपुरका ४५ वर्षीय सन्तोष सरकार, पिलिभित रानिकलौनी पोष्ट मजौलाका ४४ वर्षीय सुन्धासु हल्दार, उधमसिंहनगर खटिमाका २३ वर्षीय रवि विश्वास छन्।

यस्तै खटिमाकै ३२ वर्षीय कार्तिक सरदार, ३८ वर्षीय निवास गाइन, ४९ वर्षीय निरञ्जन अधिकारी, २५ वर्षीय भूपेन्द्र पुरी, पिलिभित न्यूरियाका ३५ वर्षीय शान्तिरञ्जन बैरागी र नोदिया पोष्ट इटापुकुरका ३९ वर्षीय गोकुल मण्डल रहेका छन्।
प्रहरी उपरीक्षक कमल थापाले प्रहरीको विशेष खोज अनुसन्धान टोलीले अनधिकृत रूपमा औषधि पसल सञ्चालन गरी जनताको स्वास्थ्य माथि खेलबाड गर्ने र स्वास्थ्यमा जोखिम पर्ने खालका औषधी बिक्री वितरण गर्दै आएका भारतीय नागरिकलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको जानकारी दिए ।
“बिनाअनुमती यहाँ आएर चिकित्सक भन्दै औषधि पसल सञ्चालन गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाएका हौँ”, उनले भने– “कानुनी कारबाहीका लागि अनुसन्धान गरी अभियोजन पत्र सरकारी वकिल कार्यालयमा पेश गरेका छौँ ।”
“औषधि पसलमै असुरक्षितरुपमा गर्भपतन समेत गरेको अनुसन्धान क्रममा पाइएको छ”, एसपी थापाले भने, “प्रहरीको खोजी कार्यपछि औषधी व्यवस्था विभागले पनि चासो देखाएको छ ।”
अनधिकृत रूपमा औषधि पसल सञ्चालन गर्ने अन्यको पनि खोजी थालिएको उनले बताए। प्रहरीको विशेष खोज अनुसन्धान टोलीले अनधिकृत रूपमा औषधि पसल सञ्चालन गरी जनताको स्वास्थ्य माथि खेलबाड गर्ने र स्वास्थ्यमा जोखिम पर्ने खालका औषधी बिक्री वितरण गर्दै आएका भारतीय नागरिकलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।





